चितवन विशेष

चितवन प्रहरीको निशानामा बुलेट र क्रसफायर बाइक, ठूलो आवाज बनाउनेलाई कारबाही

Banner

चितवन,चैत १५-

जिल्ला प्रहरी कार्यालय चितवनले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर चलाएका मोटरसाइकल नियन्त्रणमा लिएको छ । ध्वनी प्रदुषण भएको जनगुनासो बढेपछि प्रहरीले विभिन्न कम्पनीका ३४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।

भरतपुर र सौराहा क्षेत्रबाट ती मोटरसाइकललाई नियन्त्रणमा लिइएको शनिबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको छ । नियन्त्रणमा लिएका मोटरसाइकलमा रोयल इन्फिल्ड (बुलेट) २१ वटा, क्रसफायर सात वटा, एनएस २०० सीसी दुई वटा, भीआर, एभेन्जर १५० सीसी, यामाहा एफजेड र बेनेली एक÷एक वटा रहेका छन । नियन्त्रणमा लिइएका मोटरसाइकललाई प्रहरी कार्यालमा राखिएको छ । मोटरसाइकल धनी आफैले वर्कशपबाट मेकानिक बोलाएर मोटरसाइकलको वास्तविक स्वरुपमा परिवर्तन गर्न लगाइएको जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।

वास्तविक स्वरुपमा बदली सकेपश्चात जरिवाना गराएर अभिभावकको जिम्मा लगाइ पठाइने उहाँले बताउनुभयो । जरिवाना रकम एक हजारदेखि ५ हजारसम्म रहेको छ ।
साइलेन्सरको पाइपमा रेडबुलको बट्टा हालेर समेत ठूलो आवाज आउने बनाउने गरेको पाइएको एसपी अधिकारीले बताउनुभयो । यस्तै उहाँले मोडिफाइ गर्नेमात्र नभइ गराउने पनि दोषी हुने बताउनुभयो । त्यसैले अब वर्कशपहरुलाई बोलाएर एक पटक सचेत गरेर पठाउने जानकारी दिँदै एसपी अधिकारीले फेरि दोश्रो पटक गल्ति दोहोराएमा वर्कशपलाई पनि कारबाही गरिने बताउनुभयो । यसअघि पनि प्रहरीले यस्ता मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गर्ने गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>