चितवन विशेष

राष्ट्रिय जनगणना तीव्र पार्न चितवनमा सात स्थानीय कार्यालय स्थापना

Banner

चितवन,चैत १२-

राष्ट्रिय जनगणनाको तयारी तीव्र पारिएको छ । यही चैत १ गतेदेखि जिल्ला जनगणना कार्यालय स्थापना गरी तयारीलाई तीव्र पारिएको हो । चितवनसहित नवलपरासी पूर्व र पश्चिम कार्यक्षेत्र रहेको कार्यालयमा जनगणनाका लागि ८९५ गणक र २०३ सुपरिवेक्षकको दरबन्दी प्राप्त भएको छ । उनीहरुलाई तालीम दिन जिल्लामा तीन महिलासहित ३४ गणक प्रशिक्षक खटाइँदैछ ।

चितवनमा सात स्थानीय जनगणना कार्यालय रहनेछन् । सोअन्तर्गत भरतपुर, गीतानगर, चनौली, माडी, टाँडी जुटपानी र भण्डारामा कार्यालय रहनेछ । भरतपुर महानगगरपालिकामा तीन तथा माडी, रत्ननगर, राप्ती र कालिका नगरपालिकामा एकएक कार्यालय स्थापना गरिने जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिनुभयो ।

इच्छाकामना गाउँपालिका क्षेत्रलाई जुटपानी जनगणना कार्यालयले हेर्नेछ । सातै स्थानमा स्थानीय जनगणना समन्वय समिति गठन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । समितिका प्रमु्खमा स्थानीय जनगणना अधिकारी रहने व्यवस्था छ । राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश– २०७६ बमोजिम चितवनमा जिल्ला जनगणना समन्वय समिति गठन गरिसकिएको छ ।

प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो जसमा प्रमुख कोष नियन्त्रक, प्रमुख प्रहरी उपरीक्षक, शिक्षा एकाइ प्रमुख, महानगरपालिकाका अधिकृतस्तरका कर्मचारी, जिल्ला समन्वय अधिकारी र जिल्ला जनगणना अधिकारी सदस्य सचिव रहने व्यवस्था छ ।

गणनाका लागि आवश्यक सामग्री चितवनमा आइसकेको र भण्डारण गरिएको जिल्ला जनगणना अधिकारी भण्डारीले जानकारी दिनुभयो । गणनाका लागि जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिसकिएको उहाँले बताउनुभयो ।

विसं १९६८ देखि प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको छ । कोही नछुटोस्, कोही नदोहरियोस् भन्ने उद्देश्यले सबैका घरमै पुगेर गणना गरिँदैछ । यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमूना छनोट विधिबाट जनगणना गरिएको थियो ।

यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ । “विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो । यसपटक एकल विधिबाट जनगणना गर्दैछौंँ”, जनगणना अधिकारी भण्डारीले भन्नुभयो, “पहिले आठ घरमध्ये एक घर हुन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ ।”

पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरीवेक्षकले स्थानीय तहमा पुगेर सङ्कलन गर्नेछन् । यो काम आगामी वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ । मुख्य प्रश्नावलीका लागि गणक घरघरमा पुग्नेछन् । जनगणनामा घरधनी बसोबास नगर्ने घर÷भवन÷मल पनि समेटिँदैछ ।

अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ । सुपरीवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ र शहर छुट्ट्याउने गरी प्रश्नावली तयार गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>