Breaking News
चितवन प्रशासनले भन्योः यसबर्ष भिडभाड हुनेगरी होली नखेलौं, घरमै बसेर मनाऔं

चितवन,चैत १०-
जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । भिडभाड नहुनेगरी होली मनाउन आग्रह गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मास्क लगाएर घर परिसरमा मात्रै पर्व मनाउन आग्रह गर्नुभएको छ ।
नारायणी अनलाइनसंग कुरा गर्दै लामिछानेले भन्नुभयो–‘संक्रमणको जोखिमका कारण भिडभाड नगरिदिनुहुन हाम्रो आग्रह छ, त्यसबारे सार्वजनिक सूचना जारी गरेर हामीले सचेत गराइसकेका छौं ।’ सुरक्षाकर्मी परिचालन गरेर भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ । होली खेल्दा भौतिक दुरी कायम गर्नुपर्ने लामिछानेले बताउनुभयो ।
‘भिडभाड नगरिदिन हामी पूर्व जानकारी गराउँछौँ’ प्रजिअ लामिछानेले भन्नुभयो,–‘जबर्जस्ती रंग दल्नेलाई अभद्र व्यवहार मुद्दामा कानुनी कारवाही गर्छौं ।’ चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाईदै छ । चितवनमा भने दुवै दिन होली पर्व मनाइन्छ ।
स्वास्थ्य मन्त्रालयले चैत ८ मा विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा, सम्मेलन गर्न रोक लगाएको थियो । विगतमा नारायणी नदी किनार लगायतका क्षेत्रमा ठुलो भिड जम्मा भएर होली खेलिने परम्परा थियो । गृहमन्त्रालयले मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।


























