Breaking News
भागरथी हत्या प्रकरण: परिवारलाई मार्ने धम्की दिएपछि डरले अपराध स्वीकारेको दाबी

काठमाडौं, चैत ९ –
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्टले अभियोग नगरेकोल बताएका छन् । उनले घटनामा आफ्नो संलग्नता नरहेको र घटना देखेको परिवारसँग भनेका छन् ।
जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधारगृहमा रहेका दिनेशले सुधारगृहमा भेट्न गएका बुवा दीपकराज भट्टसँग दिनेश आफूले अपराध नगरेको बताएका हुन् । दिनेशका बुबा भन्छन्, ‘छोराले यसअघि फोनमा मैले अपराध गरेको छैन भनेका थिए । भेट्दा पनि आफुले उक्त घटना देखेको र कसैलाई भनिस भने घरपरिवारलाई मारिदिने धम्की दिएको बताएको थियो ।’
दीपकराजले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा घटनामा संलग्न एक सोही गाउँपालिकामा कार्यरत कर्मचारी रहेको र अर्का एकजनालाई आफूले नचिनेको बताएका छन् । घटनापछि दीपकराज सपरिवार घर छोडेर महेन्द्रनगर सरेका छन्। बुवा र भाइलाई मार्ने धम्की दिएपछि डरले आफूले घटनाबारे कसैलाई नभनेको दिनेशले बताएका छन्।
भागरथी र दिनेश दिदीभाइ हुन्। दिनेश कक्षा ११ र भागरथी कक्षा १२ मा सनातन धर्म मावि श्रीकोटमा अध्ययनरत रहेका थिए। गत माघ २१ गते भागरथी मृत अवस्थामा फेला परेकी थिइन्।


























