Breaking News
राष्ट्रपतिको अफर अस्विकार गरेको मान्छे हुँ,अहिले पनि लोभ छैनः रामचन्द्र पौडेल

चितवन,फागुन २०-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि आफुले लोभ नगरेको बताएका छन । प्रेस युनियन चितवनले आज (बिहिबार) भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले आफूलाई पदको कुनै लोभ नभएको बताए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संबिधानसभाले संबिधान बनाउन नसकेको समयमा नै प्रचण्डले मलाई प्रधानमन्त्री बन्नुस भनेका थिए तर मैले हुँदिन भनें,’ उनले भने, ’मलाई यस्ता लक्जरियस पदमा लोभ छैन ।’ उनले आफुलाई प्रधानमन्त्रीको अफर आउँदा समेत अस्विकार गरेको जिकिर गरे ।
उनले सभापति शेरबहादुर देउवाले भनेजस्तो प्रधानमन्त्री पद पार्टीले लिन सजिलो नदेखिएको बताए । पौडेलले किन र केका लागि कांग्रेस सरकारमा जाने भन्ने विषयमा आज पार्टीमा छलफल गरिने जनाए । पौडेलले भने, ‘हाम्रो सभापतिजीले भन्नुभएजस्तो त्यति सजिलो पनि छैन प्रधानमन्त्री बन्न ।’ सभापति देउवाले बुधबार चितवनमा आयोजित कार्यक्रमबाट प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने तर जिम्मेवारी आए नभाग्ने बताएका थिए ।
देश संकटपूर्ण अवस्थामा रहेकोले यसलाई पार लगाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने पौडेलको भनाइ छ । ‘हामी के हैसियतमा सरकारमा जाने भन्ने छलफल पार्टीमा हुनुपर्छ । आज बैठकमा पनि त्यसबारे छलफल हुन्छ,’ उनले भने । पौडेलका अनुसार अरूलाई सहयोग गरेर पनि सरकारमा जान भने सकिन्छ । ‘अरूलाई पनि सरकार बनाउन सहयोग पु¥यायो भने कांग्रेसको भूमिका झन् बढ्छ,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेकोले ओलीलाई सहयोग गर्न नसकिने उनले बताए । साथै उनले पार्टीले प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंबैधानिक काम गरेको भन्दै उनले अर्को समूहलाई सहयोग गर्नुपर्न धारणा राखेका छन् ।


























