Breaking News
दोस्रो चरणको कोरोनाविरुद्धको खोपमा वाग्मती प्रदेशका ६९ प्रतिशत सहभागी
चितवन फागुन १२ –
वाग्मती प्रदेशका जिल्लामा कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप ६९ प्रतिशत बढी जनताले लगाएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौँडाले मंगलबार भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेशमा रहेका १३ जिल्लाका ६६ हजार ६०२ जनाले कोभिड विरुद्धको खोप लगाएका जानकारी दिइयो । निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु काफ्लेले ९५ हजार ८४३ जनालाई खोप लगाउने लक्ष्य राखिएको भए पनि लक्ष्यभन्दा करिब ३१ प्रतिशत थोरैले मात्रै खोप लगाएका बताउनुभयो । आगामी फागुन २३ गतेदेखि ६० वर्षमाथि उमेरका नागरिकलाई तेस्रो चरणमा खोप लगाउने तयारी भइरहेको भन्दै काफ्लेले उनीहरुको सहभागिता बढ्नेगरी अभियान सञ्चालन गरिने बताउनुभयो ।
प्रदेशमा हालसम्म एक लाख ५० हजार ६९८ जनामा कोभिड सङ्क्रमण देखिएको भन्दै काफ्लेले एक लाख ४८ हजार ५५१ जना सङ्क्रमणमुक्त भइसकेका जानकारी दिनुभयो । हाल सक्रिय संक्रमितको संख्या एक हजार सात रहेको भन्दै कोभिडका कारण एक हजार १३८ जनाले ज्यान गुमाएका काफ्लेले बताउनुभयो ।
सो कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जिल्लामा ६ हजार ५२७ जनाले दोस्रो चरणको खोप लगाएको जानकारी दिनुभयो । उहाँले सात हजार ८८१ जनालाई खोप लगाउने लक्ष्य राखिएको भन्दै ८२.८१ प्रतशतले लगाएको जानकारी दिनुभयो ।
तिवारीकाअनुसार जिल्लामा दोस्रो चरणको खोप लगाउनेहरुमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीलगायतका व्यक्ति, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी, निजामति सेवाका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी त्या सेवा समूहका कर्मचारी तथा पत्रकारहरु रहेका थिए ।
बघौडा अस्पतालबाट २७७, बकुलहर रत्ननगर अस्पतालबाट एक हजार ९८१, स्वास्थ्य कार्यालय चितवनबाट तीन हजार ९४१ र इच्छाकामनामा रहेको ट्रमा अस्प्तालबाट ३२८ जनाले दोस्रो चरणको खोप लगाएका तिवारीले बताउनुभयो । जिल्लामा तेस्रो चरणको खोप सबै पालिकको स्थानीय खोपकेन्द्रमा लगाइने तिवारीको भनाइ थियो ।

























