Breaking News
सूर्य चिन्ह नपाएसम्म केपी ओलीले चुनाव गर्दैनन् : सभापति देउवा

बुटवल, फागनु ३-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूर्य चिन्ह नपाएसम्म केपी ओलीले निर्वाचन नै नगराउने आशंका व्यक्त गरेका छन् ।
बुटवलमा कांग्रेसले सोमबार गरेको जनसभामा देउवाले निर्वाचन आउन लागिसक्यो तर पनि निर्वाचन आयोगले नेकपा विवादबारे सही निर्णय गर्न नसकेको भन्दै सो बताएका हुन् ।
सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उनले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गरे । नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नभन्ने बताए । यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उनले अदालतको निर्णय पर्खिनुपर्ने बताए । उनले भने, ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।’ नेकपाको बैधानिकताबारे निर्णय नगरेकोतर्फ संकेत गर्दै निर्वाचन आयोगको आलोचना गरे । प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’
उनले अघि भने, ‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छ । निर्वाचन आयोगले किन भन्दैन रु निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’ निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने उनले बताए । यदि अदालतको निर्णय चुनाव नगराउने आयो भने (तयारी) बन्द गरे भइहाल्यो भन्दै उनले भने, ‘निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो, ६ महिनाभित्र चुनाव गराएरै छाड्छु ।’
साथै उनले नेकपाको विवादबारे निर्णय नगरेको भन्दै आयोगको आलोचना गरेका छन् । कांग्रेस सभापति देउवाले अघि भने, ‘किन कार्यकालिका किन प्रकाशित गर्दैन, चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले ? ’
























