Breaking News
चार पूर्वप्रधानन्याधीशद्वारा सर्वोच्चमा आफै उपस्थित भएर लिखित जवाफ पेश

काठमाडौँ फागुन ३ –
अदालतको अवहेलना सम्बन्धी मुद्दा खेपेका चार पूर्व प्रधानन्यायाधीशले सोमबार सर्वोच्च अदलातमा आफै उपस्थित भएर जवाफ पेश गरेका छन् ।
सर्वोच्च अदालतले अवहेलनासम्बन्धी पाँचवटै मुद्दामा कारण देखाउ आदेश जारी गर्दै चार पूर्व प्रधानन्यायाधीशलाई म्याद बुझेको सात दिनभित्र जवाफ पेश गर्न भनेको थियो ।
प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै परेका अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजालशले कारण देखाउन आदेश जारी गरेको थियो ।
सर्वोच्चले म्याद बुझेको सात दिनभित्र सबै व्यहोरा खुलाई आफै लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्चका चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाफी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका नाउमा आदेश जारी गरेको थियो । सोही अनुसार सोमबार चार पूर्वप्रधानन्यायाधीशहरुले जवाफ पेश गरेका हुन् ।
गएको पुस २४ गते पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर गर्दै सर्वोेच्चले सदर गर्न नहुने आशय व्यक्त गरेका थिए।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए।
जवाफ पेश गरेर बाहिरिने क्रममा पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले भने, ‘हामीले यहिँ आएर म्याद बुझ्यौँ र जवाफ पेश गरेका छौँ ।’
अनुपराज शर्माले व्यक्तिगत रुपमा एक र अरु तीन पूर्वप्रधानन्यायाधीशले संयुक्त रुपमा लिखित जवाफ पेश गरेका हुन् ।


























