चितवन विशेष

चितवनको भेटेरेनरी अस्पताल व्यवस्थित बनाइँदै

Banner

भरतपुर, फागुन १ –

चितवनको भरतपुरको भेटेरेनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो । पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको भेटेरेनरी अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

भेटेरेनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईँका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटेरेनरी अस्पताल बनाउन लागिएको हो । उक्त अस्पताल यही फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन लागेको उहाँले जानकारी दिनुभयो । भेटेरेनरी अस्पतालका लागि रु २६ लाख बजेट विनियोजन भएको छ ।

अस्पतालमा उपचारकक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउनुका साथै एक्सरे मेसिन पनि राखिने जनाइएको छ । केन्द्रभित्रै रहेको भवनमा बन्न लागेको उक्त भेटेरेनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि निर्माण गरिनेछ । गत वर्ष सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्रीलाई नै परिचालन गरी अस्पतालको सेवालाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने छ ।

“सामान्यरूपमा अहिले केन्द्रले पशुको गोबर र दूध परीक्षण गर्दै आएकामा अब अस्पताल बनेपछि थप सेवासुविधा दिनेछौँ”, उहाँले भन्नुभयो । साथै अस्पताल बनेपछि पशु औषधिको प्रभावकारिता पनि परीक्षण हुनेछ । पशुलाई कस्तो औषधि दिने, कसरी खुवाउने भन्नेबारेमा पनि जानकारी दिने प्रमुख डा चापागाईँले बताउनुभयो ।

पशुपालन क्षेत्रको व्यवसायीकरण तथा पशु स्वास्थ्य सेवामा निरन्तर लागेको केन्द्रले पछिल्लो समय कृषक तथा पशुपालन व्यवसायीको हितमा काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रले किसानको सेवा, सुविधाका लागि थप सामान पनि माग गरेको छ ।” केन्द्रले रगत परीक्षण र जीवाणु परीक्षणको लागि मेसिनको माग गरेको उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>