देश/प्रदेश
मिस्टर एण्ड मिस थारुको आज अन्तिम अडिसन, मौका नगुमाउनु होला

काठमाडौं, फागुन १–
तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अन्तिम अडिसन आज (शनिबार) तीन जिल्लामा हुँदैछ ।
वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको अन्तिम अडिसन आज (शनिबार) काठमाडौं, बुटवल र दाङमा हुन लागेको हो । आज काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।
यस अडिसनबाट छनौट भएका प्रतियोगी र यसअघि दुई चरणमा भएको अडिसनबाट छनौटमा भएका प्रतियोगीहरुलाई प्रशिक्षणमा सहभागि गराइने छ ।
पहिलो चरणमा चितवन, विराटनगर र नेपालगञ्जबाट १४ जना छनौट भएका थिए भने दोस्रो चरणमा सुनसरीको झुम्का, सिराहाको लहान, पर्साको वीरगञ्ज र कैलालीको धनगढीमा भएको अडिसनबाट ३० जना छनौट भएका छन् ।
अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण गरिने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए ।
थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।
























