Breaking News

फागुन १ गतेदेखि चितवन मेडिकल कलेजमा अत्याधुनिक प्रविधिबाट कपाल प्रत्यारोपण सेवा

Banner

चितवन,माघ ३०-

चितवन मेडिकल कलेजले कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको छ । कलेजले अहिलेसम्मकै अत्याधुनिक प्रविधिबाट आगामी फागुन १ गतेदेखि कपाल प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको हो । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार विकसित मुलुकमा शुरु भएको नवीनतम प्रणालीबाट विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा शुरु गर्न लागिएको हो । विगत पाँच वर्षदेखि कपाल र छालासम्बन्धी सेवा दिँदै आएको कलेजले काठमाडौँ विशालनगरस्थित अरोगिन हेल्थकेयरको समन्वयमा जिल्लामा पहिलो पटक यो सेवा शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको चण्डीगढ़मा छाला तथा कपालसम्बन्धी विषयमा स्नातकोत्तर गरेर आउनुभएकी डा श्रद्धा उप्रेती नेतृत्वको टोलीले यो सेवा प्रदान गर्नेछ । कपाल, छाला एवं यौन रोग विशेषज्ञ डा उप्रेतीले कपाल झरेर तालु चिल्लो भएको, घाउचोट वा पोलेको दागका कारण कपाल नभएको स्थानमा समेत प्रत्यारोपण गर्न सकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेष गरेर महिलामा हेयर लाइन मिलाउनुपर्ने अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्छ, कपाल झर्ने समस्याका लागि पनि विभिन्न थेरापीबाट समस्याको हाल गरिन्छ ।” हालसम्मकै अत्याधुनिक प्रणालीबाट कपाल प्रत्यारोपण सेवाका साथै छाला, सौन्दर्य र यौन रोगसम्बन्धी सम्पूर्ण उपचार हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलेजले ल्याएको प्रविधि विश्वमा नै हालसम्मको सबै भन्दा नयाँ हो । रोपेको जति शतप्रतिशत कपाल बाँच्ने र कम समयमै राम्रो परिणाम आउने हुनाले हाल प्रायः सबै जनाले यो प्रविधि नै रोज्ने गरेको डा उप्रेतीको भनाइ छ । अरोगिन हेल्थकेयरका प्रबन्ध निर्देशक रोशन पाण्डेले आफूहरुले काठमाडौँबाट यो सेवा दिँदै आएको जानकारी दिँदै अब चितवनलगायत यस आशपासका बासिन्दा यो सेवाबाट लाभान्वित हुने बताउनुभयो ।

चितवन मेडिकल कलेजले केही समय अघि अत्याधुनिक स्प्याक्टसिटी मेसिनसमेत भित्र्याएको छ । उक्त मेसिन भित्र्याएसँगै चिकित्साशास्त्रको अत्याधुनिक र अतिविशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवासमेत शुरु भएको छ । कलेजले यस किसिमको अत्याधुनिक उपकरण नेपालमा पहिलोपटक आफूले शुरु गरेको जनाएको छ ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले स्वास्थ्यसँग सम्बन्धित सेवाका लागि बिरामी विदेश जानु नपर्ने गरी सेवा बिस्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विश्वका ठूला अस्पतालले दिने सेवा यही दिनका लागि काम गरिरहेका छौँ ।” कतिपय विभाग नेपालको उत्कृष्ट रहेको भन्दै उहाँले आफ्नो प्रतिस्पर्धा विदेशका ठूला अस्पतालसँग हुनेगरी उपचार सेवा बिस्तार गरिरहेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>