Breaking News

चितवनकी नायिका बेनिशा समाज सेवासहित रङ्गमञ्चमा जम्दै

Banner

मनिका विश्वकर्मा,

चितवन, माघ २९ –

चलचित्रको पर्दामा नायक तथा नायिकाको भूमिका निर्वाह गर्नेहरु कोही त वास्तविक जीवनमा पनि नायक बन्न सक्छन् । त्यस्तै पछिल्लो समय नेपाली चलचित्रमा भविष्य खोज्दै अघि बढिरहनुभएकी अभिनेत्री बेनिशा हमालको पनि आफ्नो छुट्टै वास्तविकता लुकेको छ । उहाँ समाज सेवाको कामसहित चलचित्र क्षेत्रमा आफ्नो भविष्य अगाडि बढाउँदै हुनुहुन्छ । कोरोनाको त्रासमा लकडाउनको समयमा काठमाडौँको रत्नपार्क र पशुपतिसहित विभिन्न ठाउँमा विपन्नलाई राहत वितरणमा उहाँ सक्रिय हुनुभयो । हालसालै उहाँ भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पनि सहयोग जुटाउन क्रिकेट खेल्न आइपुग्नुभएको थियो ।

चितवनको गीतानगरमा जन्मिनुभएकी बेनिशालाई सानो उमेरमा चलचित्र क्षेत्रमा लाग्छु भन्ने लागेको थिएन । सानै उमेरदेखि पढाइमा पनि अब्बल बेनिशा परिवारको पनि प्यारी छोरी हुनुहुन्छ । बेनिशाले सानै उमेरदेखि आफ्नो प्रतिभा देखाउन डर मान्नुहुन्थेन । उहाँ विद्यालयका विभिन्न कार्यक्रममा सहभागी हुने गर्नुहुन्थ्यो । बेनिशा भन्नुहुन्छ, ‘मेरो मम्मीको इच्छा थियो म हिरोइन बनोस् भन्ने । उहाँले सानैदेखि मलाई नयाँ फिल्म आउनेबित्तिकै हल लैजानुहुन्थ्यो ।’ यसबाट पनि बेनिशालाई चलचित्रप्रति झुकाव बढ्दै गयो ।

उहाँ सम्झिँदै भन्नुहुन्छ, ‘आफैँले पछि गएर फिल्म खेल्छु भन्ने त सोचेको थिइन ।’ उहाँले चितवनको कालिका एफएमबाट मिडिया करिअर सुरु गर्नुभएको हो । उहाँको आवाज मिठो भएकोले समाचार वाचिकाको रुपमा उहाँले काम गर्नुहुन्थ्यो । चितवनमा प्लस टु सक्किएपछि उहाँ स्नातक तह अध्ययन गर्न काठमाडौँतर्फ जानुभएको थियो । ‘काठमाडौँ आएपछि मैले च्यानल नेपालमा काम गर्ने मौका पाएँ र त्यहाँबाट मलाई फिल्मको अफरहरु आउन थाले ।’ उहाँले भन्नुभयो । समाजमा देखिएका जति पनि कथाहरु छन् ती सबै नेपाली चलचित्रमा सीमित रुपमा आइरहेको अभिनेत्री बेनिशा हमाल बताउनुहुन्छ ।

बेनिशा भन्छिन्, ‘नेपाली चलचित्रमा समसामयिक विषयवस्तु बारेका कथाहरुलाई समेटेर प्रतिनिधि पात्रको रुपमा महिलालाई नै राख्नुपर्छ ।’ बेनिशालाई समसामयिक विषयवस्तु बारेका कथाहरुमा अभिनय गर्न मन लाग्ने उहाँले बताउनुभयो । ‘नेपाली चलचित्रमा समाजमा लुकेका कथाहरु सीमित मात्रामा आएको छ । सामाजिक विषयवस्तुबारेका कथाहरु धेरै आउनुपर्छ’ उहाँले भन्नुभयो । चलचित्रको रङ्गिन पर्दामा फरक फरक जीवन बाच्नेहरुको जीवनमा केही अँध्यारा र केही उज्याला पाटाहरु हुने उहाँ बताउनुहुन्छ । उहाँले पनि चलचित्र क्षेत्रमा भिज्न थालेको धेरै समय भएको छैन । धेरै कुराहरु बुझ्न बाँकी रहेको उहाँले सुनाउनुभयो ।

काठमाडौँ गएपछि उहाँलाई धेरै म्युजिक भिडियोसँगै चलचित्रको पनि अवसरहरु आउन थाले । उहाँले चलचित्रमा ‘स्वर’बाट नेपाली चलचित्रमा डेब्यु गर्नुभएको हो । पहिलो चलचित्रबाट आफूलाई चलचित्रमा केही गर्न सक्छु भन्ने हिम्मत आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो फिल्मबाट मलाई फिल्म प्रतिको मोह जाग्यो ।’ पहिलो चलचित्रबाट नै आफूलाई उत्साह आएको उहाँ बताउनुहुन्छ । त्यसपछि उहाँले ‘ज्यान हाजिर छ, महसुस, मोक्ष, ब्लाईन्ड रक्स’, लगायत चलचित्रमा काम गर्ने मौका पाउनुभयो । चलचित्रको बारेमा जति बाहिर व्याख्या गरिन्छ भित्र काम गर्न त्यतिको सजिलो नहुने उहाँ बताउनुहुन्छ । पहिलो चलचित्रबाट नै आफूलाई चलचित्र प्रति प्रेरणा पाएर काम गर्न सुरु गरेको उहाँले बताउनुभयो । ‘पहिलो फिल्म बनेपछि मैले थियटरको कक्षाहरु लिन थालेपछि मलाई अझ फिल्महरुको अफर आउन थाल्यो’ हमालले भन्नुभयो ।

‘मलाई पनि फिल्म भनेको त के हो र नाटक त गर्ने हो नि जस्तो लाग्थ्यो तर पहिलो फिल्म खेलेपछि थाहा भयो कति धेरै कठिन हुँदो रहेछ भनेर’ उहाँले सुनाउनुभयो । चलचित्रको लागि खानपिनदेखि सबै कुरामा ध्यान पु¥याउनुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समय बेनिशा जातीय प्रथासँग सम्बन्धित नेपाली चलचित्र ‘भाँडाकुटी’मा अनुबन्ध हुनुभएको छ । उहाँले भन्नुभयो, ‘भाँडाकुटी फिल्ममा हाम्रो समाजमा जातीय विभेदको कारण बहिष्कृत भएका त्यसमध्येको एउटा पात्र हो म ।’ भर्खरै उहाँले भारतको मुम्बईबाट फिल्म मेकरको कोर्स पनि सक्काएर आउनुभएको थियो । पहिलेदेखि आफूले कथा लेख्ने भएकाले पनि ती कथाहरु चलचित्रमा ल्याउन मन रहेको भन्दै उहाँले हाँस्दै भन्नुभयो, ‘अब मलाई फिल्म निर्माताको रुपमा पनि देख्न सक्नुहुनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>