Breaking News

फेरि एक पटक बलिदानीपूर्ण आन्दोलनको आवश्यकता छ: बाबुराम भट्टराई

Banner

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, माघ २१

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली जनताले फेरि एक पटक त्याग, बलिदानी र बहादुरीपूर्ण आन्दोलन गर्नुपर्ने बताएका छन् ।

आज बुधबार जनता समाजवादी पार्टी जिल्ला कार्यसमिति चितवनले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर राजा महेन्द्रको १७ सालको जस्तो र ज्ञानेन्द्रको ६१–६२ सालको जस्तो प्रतिक्रान्ति कदम चालेको भट्टराईले बताए । संसद विघटन गरेर ओलीले राजा माहाराजाको पालामा जस्तो प्रतिगमनकारी कदम चालेकोे भट्टराईको तर्क छ ।

अब आन्दोलनको आँधिबेहरी नयाँ ढंगले सृजना नगरेसम्म उक्त प्रतिगमनलाई सच्याउन नसकिने उनले बताए । त्यसको निम्ति नेपाली जनताले फेरि एक पटक त्याग, बलिदानी र बहादुरी प्रदर्शन गर्नुपर्ने बताउँदै उनले नेपालीहरु सत्य, न्याय, अग्रगमनको पक्षमा, राष्ट्रिय स्वाधिनताको पक्षमा ज्यान छाडेर लड्न तयार छन् भन्ने सन्देश दिन जरुरी रहेको बताए । उक्त आन्दोलनको नेतृत्व गर्न जनता समाजवादी पार्टी तयार रहेको बताउँदै उनले यसका लागि सबै दलहरुलाई एकजुट हुन उनले आह्वान गरेका छन् ।

आगामी बैशाखमा ओलीले चुनाव नगराउने ठोकुवा गर्दै उनले आफूले जित्ने सुनिश्चितता भएपछि मात्र ओलीले निर्वाचन गराउने धारणा राखे । निर्वाचन गराए पनि उक्त निर्वाचन ४७ सालको संविधानअनुसार हुने बताउँदै उनले यसलाई स्वीकार्न नसकिने बताए । गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशितालाई नै सखाप पार्ने गरी संसद विघटन भएको उनको तर्क थियो ।

संसद विघटनले गर्दा संविधानमाथि मात्र खतरा नभई सिंगो राष्ट्र र सार्वभौमतामाथि नै खतरा भएको उनको भनाइ छ । देश गृहयुद्धमा फस्न सक्ने बताउँदै उनले यसलाई रोक्न सबै एकजुट भएर ओलीको विरुद्ध लाग्नुपर्ने बताए । पार्टी एकताबारे कुरा गर्दै उनले नयाँ शक्ति नेपाल र संघीय समाजवादी पार्टीको एकताका थप कामलाई तीव्रता दिन लागिएको बताए । त्यसका लागि समायोजन गर्ने कार्यतालिका बनाइएको बताउँदै उनले अब छिट्टै काम सक्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>