चितवन विशेष
बाइपासदेखि केरुङ्गासम्मको सल्लेरी मार्गमा आरसीसी ड्रेन बन्ने, सांसद र वडाध्यक्षले गरे शिलान्यास

चितवन, माघ २०-
भरतपुर महानगरपालिका ११ को बाइपासदेखि दिपचोकसम्म सल्लेरी मार्गमा आरसीसी ढल (ड्रेन) निर्माण गरिने भएको छ । ड्रेनको आज (मंगलवार) बागमती प्रदेश सांसद विजय सुवेदी र भरतपुर महानगरपालिका ११ का वडाध्यक्ष बाबुराम अधिकारीले संयुक्तरुपमा शिलान्यास गरे । सो अवसरमा बोल्दै सांसद सुवेदीले अबको विकास पानीको निकास सहितको हुनुपर्ने बताए । वर्खाको समयमा डुवानको समस्या भएका क्षेत्रमा अनिवार्य ड्रेनको व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘बसोबासका लागि मूख्य रुपमा पानीको व्यवस्थापन हुनुपर्छ, डुवानले भौतिक संरचना र सडक विग्रने अवस्था आउनु हुँदैन ।’ उनले विकास निर्माण दिगो व्यवस्थित र भरपर्दो हुनुपर्ने भन्दै भविष्यलाई ख्याल गर्नुपर्नेमा जोड दिए । ‘भरतपुर ११ को पानी सबै केरुङ्गा नहरमा अउँछ, उनले भने,त्यसैले केरुङ्गाको पनि व्यवस्थापन गर्न लागिएको छ ।’ उनले फोहोर पानीले केरुङ्गा प्रदुषित हुनेभन्दै घरबाट निस्कने फोहोर पानी घरमै व्यवस्थापन गर्न आग्रह गरे ।

केरुगाको डिपिआर निर्माण भइसकेको छ । प्रदेश सरकारले छिटै बजेट विनियोजन गरेर टेण्डर गर्ने तयारी गरिरहेको सांसद सुवेदीले बताए । केन्द्र सरकारसंग पनि बजेटका लागि अनुरोध गरिरहेको उनले जानकारी दिए । केरुङ्गा ३३ किलोमिटर लामो छ । केरुङ्गालाई सहरी सौन्दर्य सहितको खोलाको रुपमा विकास गर्न लागिएको छ ।
वागमती प्रदेश सरकारले विनियोजन गरेको ५० लाखको लागतमा उक्त नाली निर्माण गर्न लागिएको हो । यसै आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय चितवनकी इन्जिनियर पूजा ढकालले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

निर्माणको ठेक्का इगल कन्सलटेन्सी एण्ड कन्ट्रक्सन काठमाडौंले पाएको छ । सल्लेरीमार्गमा ६२५ मिटर लामो आरसीसी नाला बनाइने इन्जिनियर ढकालले बताइन् । निकासको व्यवस्था नहुँदा भरतपुर ११ का विभिन्न स्थानमा वर्षातको समयमा डुवान हुने गरेको छ । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर ११ का वडाध्यक्ष प्रकाश आचार्यले ड्रेन निर्माणका लागि निर्माण कम्पनीलाई सहज वातावरण बनाइने बताए । उनले वडाका हरेक विकास निर्माणमा पार्टीले साथ र सहयोग दिइरहेको उल्लेख गरे ।



























