Breaking News
ओली सरकार एम्बुलेन्स चढेर अस्पतालको कोमाबाट समाप्त हुन्छ : जनार्दन शर्मा

चितवन, माघ २०-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले ओली सरकार एम्बुलेन्स चढेर अस्पतालको कोमामा पुगी समाप्त हुने बताएका छन् ।
मंगलबार भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारण सभामा उनले यस्तो बताएका हुन् ।
शर्माले सरकार प्रमुखबाट देशमा राजनीतिक बिपत्ति ल्याइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कोमामा राखेको उनको भनाइ थियो । देशमा आएको यो परिवर्तनलाई पछाडि फर्काउने उद्देश्यले प्रधानमन्त्रीद्वारा संसद विघटन गरिएको उनको आरोप थियो । संविधानमा लेखिएको जनताको अधिकार कार्यान्वयन हुन नदिन र जनताको मौलिक अधिकार खोस्ने उद्देश्यले संसद विघटन गरिएको उनले बताए । सिंगो नेकपा संसद विघटनविरुद्धको आन्दोलनमा रहेको बताउँदै उनले संयुक्त आन्दोेलनको आवश्यकता रहेको बताए । जसका लागि नेपाली कांग्रेस र समाजवादी पार्टी र सबै जन संघसंगठनहरुलाई तयार हुन उनले आह्वान गरेका थिए ।
नेता शर्माले सबै एम्बुलेन्स चालकहरुलाई सरकारले जागिर दिएर सरकारले नै तलब दिनुपर्ने बताए । एम्बुलेन्स चालकलाई तलब नदिँदा मौलिक अधिकारको हनन् हुने उनको भनाइ थियो । संसद पुनःस्थापना गरेर एम्बुलेन्स चालकको मागलाई आफूहरुले सम्वोधन गर्ने शर्माले बताए । चालकका लागि ल्याइएको ऐनले एम्बुलेन्स चालकलाई मर्कामा परेको पाइएको बताउँदै उनले यसलाई संशोधन गर्नुपर्ने बताए ।
एम्बुलेन्स चालकलाई सल्लाह दिँदै शर्माले बिरामीलाई अस्पताल पु¥याउँदा उनीहरुको घरको अवस्था हेरेर सहज हुने अस्पतालमा लैजान आग्रह गरे । गरिबका जनतालाई महंगा निजी अस्पतालमा नलैजान आग्रह गर्दै उनले एम्बुलेन्स चालकले यस्तो कुरामा विवेक पु¥याउनु पर्ने बताए । यदि निजी अस्पतालले सहुलियत तथा निःशुल्क उपचार गर्छ भने मात्र लैजान उनको आग्रह थियो ।

जारी साधारण सभामा संघका महासचिव मुक्ति काफ्लेले एम्बुलेन्स चालकका विभिन्न समस्याहरु रहे पनि सरकारले त्यसलाई समाधान नगरेको बताए । मुख्य समस्याहरुमा स्तरीय एम्बुलेन्स आयातमा कठिनाइ, चालकहरुका लागि न्यूनतम आवश्यकता समेत पूरा गर्ने वातावरणको सृजना नुहुनु, चालकको पेसा स्थायी नहुनु, एम्बुलेन्स चालकको विषयमा राज्यस्तरबाट कहिल्यै सम्बोधन नुहुनु, अत्यावश्यक सवारी साधन भएता पनि सो सम्बन्धी कानुन नहुनु र आम जनताको पहुँचमा नआउनु रहेको उनले जनाए । साधारण सभामा जिल्लाका विभिन्न एम्बुलेन्स चालक तथा जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधलाई सम्मान गरिएको थियो ।
संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको साधारण सभामा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला प्रशासन कार्यायल चितवनका प्रमुख नारायणप्रसाद भट्टराई, एम्बुलेन्स चालक संघका विभिन्न सचिवालय सदस्य, विभिन्न अस्पतालका डाक्टर, राजनीति दलका नेता तथा भातृसंगठनका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।


























