Breaking News

महिला अधिकारकर्मीहरु भन्छन्: राष्ट्रपति भण्डारीप्रति झाक्रीले गरेको टिप्पणी गैरजिम्मेवार र अनैतिक

Banner

काठमाडौं, माघ २०-

राष्ट्रपति विद्यादेवी भण्डारीप्रति गैरजिम्मेवार टिप्पणी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की युवा नेतृ रामकुमारी झाक्रीको चौतर्फी आलोचना भएको छ ।

गोरखाको एक कार्यक्रममा एकल महिलासमेत रहेकी राष्ट्रपति भण्डारीप्रति महिला हिंसा हुने खालको अभिव्यक्ति दिएपछि नेतृ झाक्रीको चौतर्फी आलोचना भएको हो ।

मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संयोजक तथा मानवअधिकारकर्मी लिली थापाले झाक्रीको नाम उल्लेख नगरी उनको अभिव्यक्तिलाई हिंसात्मक रुपमा टिप्पणी गर्दै आलोचना गरेकी छिन् ।

‘सेतो सारी लगाउने एकल महिला कत्ति शक्तिशाली र सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्छन् भन्ने कुरा मनन गर्न म ति युवा नेता जसले राजनीति प्रतिशोधको कारण एउटा राष्ट्रप्रमुखमाथि आरोप प्रत्यारोप गरिरहेकी छिन्, उहाँलाई एउटा एकल महिलाको घरमा उनको दिनचर्यालाई नजिकबाट हेर्न अनुरोध गर्दछु,’ थापाको टिप्पणी छ, ‘स्वतन्त्रताको परिभाषाभित्र व्यक्तिगत चरित्रहत्या तथा आक्षेप स्वीकार हुदैन भन्ने कुरा यहाँलाई त्यति पनि थाहा छैन होला जस्तो लागेको थिएन ।’

एकल महिलालाई रातो सारी अभियानको नेतृत्व गर्दै आएकी थापाले स्वतन्त्रताको नाममा झाक्रीले छुद्र टिप्पणी गरेको समेत टिप्पणी गरेकी छन् ।

‘राष्ट्रप्रमुख जस्तो व्यक्तिलाई त एकल महिला भएकै कारण पटकपटक यस्ता आक्षेप लाग्छन् भने अन्य साधारण एकल महिलाको कस्तो अवस्था होला अनुमान गरौँ’, उनले भनिन् । नेतृ झाक्रीले राष्ट्रपति भण्डारीप्रति गरेको टिप्पणीको चौतर्फी आलोचना भइरहेको बेला थापाले मुख फोरेकी हुन् ।

मानवअधिकारकर्मी मोहना अन्सारीले पनि झाक्रीको नाम उल्लेख नगरी राष्ट्रपति भण्डारीप्रति गरिएको टिप्पणीको आलोचना गरेकी छन् । ‘महिलाको चरित्रहत्या गरी राजनीति गर्ने कुनै पनि न महिला न पुरुष मेरो लागि प्रिय हुन सक्दैन, यस्ता व्यक्ति समाजका लागि विषालु र घातक हुन्छ’, अन्सारीले छोटो टिप्पणी गरेकी छन् ।

त्यसो त वरिष्ठ पत्रकार तथा महिला अधिकारकर्मी बबिता बस्नेतले पनि झाक्रीको अभिव्यक्ति राजनीतिक संस्कार विपरित भएको भन्दै आलोचना गरेकी छिन् । ‘अहिले सामाजिक सञ्जालमा दुई कुराको चर्चा छ– श्री ५ को सरकार र बडामहारानी, श्री ५ झुक्किएर बोलिएको हो र बडामहारानी नियतबस,’ बस्नेतले टिप्पणी गरेकी छिन, ‘उहाँ (झाक्री) नै हो त ? भनेर धेरै पटक दोहो¥याएर हेरे, सेतो सारी देखि कोटेश्वर, चाबहिल, वानेश्वर हुँदै बालकोटसम्मका शब्द बोल्ने मान्छेको राजनीतिक संस्कार देखिएन ।’

पत्रकार बस्नेतले झाक्रीको राजनीतिक संस्कार देखाउनु पर्ने भन्दै सचेतसमेत गराएकी छिन् । साहित्कार सीमा आभाषले पनि झाक्रीको अभिव्यक्तिप्रति आक्रोश पोख्दै उनको चेतनास्तरमाथि प्रश्न उठाएकी छन् ।

‘यद्यपि हामी रातो सारी र सेतो सारीमा अल्झिएर बोल्छौँ, एउटी महिला आफ्नो बलबुताले उभिन सक्छे भन्ने कुरा नकार्दै तथानाम भन्छौ’ आभाषको टिप्पणी छ, ‘हामी कहिले यो निकृष्ट चेतनाबाटमाथि उभिनु ! पद, प्रतिष्ठा, सर्टिफिकेटले व्यक्तिको चेतनालाई नउकास्दो रहेछ ।’

महिला अधिकारकर्मी जस्मिन ओझाले पनि राष्ट्रपति भण्डारीप्रति झाक्रीले गरेको टिप्पणीको खुलेर आलोचना गरेकी छिन् । ‘म एउटा नारीवादी चिन्तन राख्ने नारी भएको कारणले गर्दा एउटा नारीले किन अर्को नारीको विरोध गर्नु ? हामी हातमा हात मिलाएर अघि बढ्नुपर्छ भन्ने मान्यता राखेको थिए,’ ओझाको टिप्पणी छ, ‘तर, आज दुःखको साथ भन्नु परेको छ रामकुमारी झाँक्रीजस्ता महिलाको कारणले गर्दा समाजमा महिलामुक्ति आन्दोलन सफल नभएको हो र महिलाहरू दिनदिनै अपहेलित भएका हुन ।’

झाक्रीको अभिव्यक्ति गैरजिम्मेवार र अनैतिक भएको भन्दै माफीसमेत माग्नु पर्ने उनको धारणा छ । नेतृ मिना श्रेष्ठले पनि एकल महिलासमेत रहेकी राष्ट्रपति भण्डारीप्रति झाक्रीले गरेको टिप्पणीको बिरोध गरेकी छिन् ।

‘महामहिम राष्ट्रपतिप्रति गरिएका प्रहारमध्ये यो तुच्छ प्रहारले सारा एकल महिलाको स्वाभिमानमा प्रहार भएको छ,’ श्रेष्ठको प्रश्न छ, ‘यस्ता घिनलाग्दो लान्छना व्यक्त हुन्छ भने एकल महिलाले बाँच्ने धर्ती आकाश खोइ ? सारै मन रोयो, यही हो त हाम्रो राजनीतिक संस्कार? हामीले यस्तै प्रशिक्षण प्राप्त गरेका हौ र ?’

समाजका ‘रामकुमारी प्रवृति’ का कारण निरन्तर महिलाहरु अपमान हुनु परेको उनको भनाई छ । विद्यार्थी नेतृ एलिजा ढकालले पनि झाक्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् ।

‘राष्ट्रपतिमाथि उठ्ने गरेका राजनीतिक प्रश्नहरू जायज छन्, राजनीतिक मान्छेले सहनु पनिपर्छ,’ ढकालले लेखेकी छिन्, ‘तर उहाँको चरित्रमाथि उठ्ने गरेका प्रश्नहरुमा जोडिएका सामाजिक प्रश्नहरु कदापि क्षम्य छैनन्, आर्थिक रुपमा महिला सबल नभएको समय, सन्तान र सेतो सारी सामाजिक रूपमा उहाँको जीवन त्यति सजिलो थिएन ।’

राष्ट्रपति भण्डारीमाथि गरिएको टिप्पणीलाई धेरैले महिलाले महिलामाथि गरेको हिसांको रुपमा अथ्र्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>