Breaking News
प्रधानमन्त्री कपः एपिएफ क्लव समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

काठमाडौं, माघ १२–
समूह ‘ए’ मा अपराजित रहँदै एपिएफ क्लव काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु मैदानमा आज (सोमबार) भएको खेलमा त्रिभुवन आर्मी क्लवलाई ६ रनको झिनो अन्तरले पराजित गर्दै एपिएफ अपराजित यात्रा कायम गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह ‘ए’ मा अपराजित रहँदै ४ खेलबाट एपिएफले ८ अंक जोड्यो । यस्तै समूहको उपविजेता बन्दै त्रिभुवन आर्मी क्लवले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
आज पहिले व्याटिङ गरेको एपिएफ क्लवले २४० रन जोडेको थियो । उसका लागि सुमित महर्जनले ४६, सुवास खकुरेलले ३८, सुन्दिप जोराले २८, अमरसिंह रौटेलाले २६ र कप्तान शरद भेषवाकरले २४ रन बनाएका थिए । आर्मीका लागि हरिबहादुर चौहानले ९.४ ओभरमा एक मेडनसहित ६० रन खर्चिदै ५ विकेट लिए । सहाब आलमले २, आकाश चन्द, सुसन भारी र विक्रम शोबले समान एक विकेट लिए ।
जवाफमा आर्मी ८ विकेटको क्षतिमा २३४ रन मात्रै जोड्न सक्यो । आर्मीलाई इनिङको अन्तिमसम्म पु¥याउन आकाश चन्द र साहब आलमले ३८ रनको साझेदारी गरे । शाहब २० र आकाश १६ रनमा अविजित रहे । यस्तै अनिल मण्डल ४५, राजेश पुलामी मगरले ३३, रोहित पौडेलले ३० रनको योगदान दिए । कप्तान विनोद भण्डारी र हरि चौहान शून्यमै आउट भएपछि आर्मी दवाबमा परेको थियो ।
अब सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लवको सामना गर्ने छ भने आर्मीले समूह ‘बी’को विजेता बागमती प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ ।
























