Breaking News

चितवन मालपोतलाई आर्थिक पारदर्शिताको लागि नगदरहित कारोबार गर्न निर्देशन

Banner

चितवन, माघ १२-

भूमि व्यवस्थापन तथा अभिलेख विभागले चितवन मालपोतसहित देशभरका मालपोत कार्यालयमा नगदरहित कारोबारको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आर्थिक कार्यविधि नियमावली–२०६४ मा मालपोत कार्यालयले उठाउने १० हजार रुपैयाँ भन्दा बढी रकमको राजस्व अनिवार्यरुपमा सम्बन्धित कार्यालयको नाममा रहेको बैँक खातामै जम्मा गर्नुपर्ने व्यवस्था छ ।

तर, अहिले पनि अधिकांश कार्यालयले नगदमै राजस्व लिने गरेको भन्दै बैँक काउन्टर रहेका कार्यालयले १० हजार रुपैयाँ समेत बैँकमै जम्मा गरेर आर्थिक पारदर्शिता कायम गर्न विभागले निर्देशन दिएको हो । चितवन मालपोत कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले केन्द्रबाट परिपत्र आएको भन्ने जानकारी भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘चितवन मालपोत कार्यालय भरतपुरभित्र २०७३ सालबाट ग्लोबल आईएमई बैँकको काउन्टर रहेको छ । सबै कारोबार बैँकबाट गरिरहेका छौं ।’ माडी, खैरहनी र चनौलीमा मालपोत कार्यालयमा भने बैँकको काउन्टर रहेका छैनन् ।

हाल देशभर रहेका १२७ वटा मालपोत कार्यालय सञ्चालनमा रहेकोमा सहित ६२ वटा कार्यालयले मात्रै कार्यालय हाताभित्रै बैंकको काउन्टर राखेर कारोबार गर्ने गरेका छन् । बाँकी रहेका कार्यालयले पनि बैंकसँग समन्वय गरी कार्यालय हाताभित्रै बैंकको काउन्टर राख्ने व्यवस्था गर्न विभागले निर्देशन दिएको हो।

तर, थोरै मात्र कारोबार हुने माडी, खैरहनी र चनौली जस्ता मालपोत कार्यालयमा बैँकलेनै शाखा खोल्न मानेका छैनन् । कार्यालय हाताभित्र शाखा खोल्न नमाने पनि सबै कार्यालयको नाममा बैंक खाता रहेकोले राजस्व रकम बैंकमै जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>