Breaking News

चितवनमा बाघ र गैँडा जोगाउन पाठशाला, मानवीय क्षति कम हुने आशा

Banner

चितवन, माघ १०-

चितवन राष्ट्रिय निकुञ्ज वरिपरीको क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई बाघ र गैँडाको आक्रमणबाट जोगाउन चितवनमा वन्यजन्तु संरक्षण पाठशाला सुरु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीमा रहेका बाघ गैँडालगायत वन्यजन्तु संरक्षणका साथ मानवीय क्षति कम गर्न शुक्रबारदेखि सचेतना पाठशाला सुरु गरिएको हो ।

राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान, मध्यवर्ती क्षेत्र चितवनको आयोजनामा बेलशहर मध्यवर्ती सामुदायिक वन गंगानगरमा ३२ वटा संस्करणको लागि पाठशालाको सुरु गरिएको संरक्षणकर्मी एवम संस्थाका अध्यक्ष अपिल घिमिरेले नारायणी अनलाइनलाई जानकारी दिए ।

नदी र जंगलमा आश्रित समुदायमा बढी मानवीय क्षति भएकोले यसको न्यूनीकरण गर्न पाठशाला सुरु गरिएको घिमिरेको भनाइ छ । उनका अनुसार जंगलमा घाँस दाउरा गर्न जांँदा वन्यजन्तुको आक्रमणबाट कसरी बच्ने र सावधानी अपनाउने र दुर्लभ वन्यजन्तुको संरक्षणका विषयमा कार्यक्रम केन्द्रित रहनेछ ।

फरक फरक समय पारेर गरिने पाठशालाको ३२ दिननै यससम्बन्धी विषय विज्ञ र संरक्षणकर्मीहरुले लक्षित वर्गलाई अभिमुखीकरण दिने छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका प्रमुख डा बाबुराम लामिछानेले बाघ तथा गैँडाको स्वभाव तथा जंगल जादा स्थानीयले ख्याल गर्नुपर्ने कुराहरुको जानकारी गराएका थिए ।

सो क्रममा लामिछानेले बाघ र गैँडाले कस्तो अवस्थामा आक्रमण गर्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा लेखिएको पुस्तकसमेत वितरण गरेका थिए । मानव र वन्यजन्तुको द्वन्द्व कम गर्दै मानवीय क्षति कम गरी वन्यजन्तु संरक्षण विषयमा उनले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

बाघको मुख्य बासस्थान बेत बाँस रहेको र बेलसहर सामुदायिक वनले ती बाँसहरु हुर्काएर संरक्षण गरिरहेको वनका अध्यक्ष चेतबहादुर रानाभाटले जानकारी दिए । यस्ता सामुदायिक वनमा विशेष गरी विपन्न वर्ग घांँस दाउरा गर्न जाने भएकोले यस किसिमिको पाठशालाले मानवीय क्षति कम हुने उनले विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>