Breaking News
भरतपुर सिटी हल : महानगर प्रमुख दाहालद्वारा अवलोकन, शिलान्यासमा होडबाजी गर्न नहुने भनाइ

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ ८ –
भरतपुर– १० मा निर्माणाधिन सिटी हल (सभा हल) को भरतपुर महानगर प्रमुख रेनु दाहालले अवलोकन गरेकी छिन् । बिहीबार बिहान महानगर प्रमुख दाहाल निर्माण स्थलमा पुगेकी थिइन् । दहालसँगै सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्याल, भरतपुर १० का अध्यक्ष अरुणपीडित भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।
अवलोकनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दे महानगर प्रमुख दाहालले सिटी हल निर्माणलाई महानगरको गौरवको आयोजनाको रुपमा लिइएको जनाइन् । महानगरपालिकामा सिटी हलको आवश्यकता महसुश गरी महानगरले यसका लागि सुरुदेखि नै पहल थालेको उनले बताइन् । केन्द्रसँग आग्रह गरी बजेटको सुनिश्चिितता गरेपछि आफूहरु जग्गाको खोजीमा लागेको उनले बताइन् । विभिन्न स्थानमा जग्गा हेरिएको भए पनि सबै तवरबाट उपयुक्त हुने ठानेर यस स्थान छनौट गरिएको उनको भनाइ छ ।
जिल्ला समन्वयन समितिको भवन पछाडि समन्वयन समितिकै नाममा रहको सरकारी जग्गामा सिटी हल बनाउन लागिएको छ । चार विघा चार कठ्ठा जग्गामा हल निर्माण गर्न लागिएको हो ।
शिलान्यास गर्न होडबाजी गर्नुुपर्ने विषय नभएको भन्दै दाहालले सिटी हल निर्माण सुरु भएसँगै शिलान्यास भइसकेको बुझ्नुपर्ने बताइन् । अब एकैपटक उद्घाटन गर्ने महानगरको तयारी रहेको उनको भनाइ थियो । निर्माण कम्पनीलाई प्रमुख दाहालले आफ्नै कार्यकालमा उद्घाटन गर्न पाउने गरी सिटी हल निर्माणलाई तीव्रता दिन आग्रह गरेकी थिइन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले सरकारको बहुवर्षीय योजना अन्र्तगत सिटी हल निर्माण थालिएको बताए । दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने अर्यालको भनाइ छ ।
२५ मिटर अग्लो सिटी हलमा २०/२० क्षमताको दुई वटा लिफ्ट राखिने छ । अर्यालले अन्तर्र्राष्ट्रिय गुणस्तरको निर्माण सामग्री प्रयोग गरेर सिटी हल निर्माण गरिने बताए । २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी यसै वर्षको मंसिर १८ गते ठेक्का सम्झौता भएको हो । निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग ठेक्का सम्झौता गरिएको हो । ८७ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण सक्ने गरी सम्झौता गरिएको हो । संघीय सरकारको बजेटमा सिटी हल निर्माण गर्न लागिएको हो । सरकारले देशका ठूला सहरहरुमा सिटीहल निर्माण गर्ने योजना बनाएको छ । त्यही योजनाअनुसार भरतपुरमा पनि निर्माण कार्य अगाडि बढाइएको हो ।
निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले निर्वाधरुपमा काम गर्न पाएमा सिटी हलको निर्माण सम्झौता मितिभन्दा अगाडि नै सम्पन्न गर्ने दाबी गरे । तर भनेको बेला बजेटको निकासा र स्थानीय रुपमा कुनै पनि समस्या आउन नहुने उनले सर्त राखेका थिए ।

























