चितवन विशेष
भरतपुरको पटिहानीमा ९१ लाखमा बन्ने प्रदर्शनी कक्षको शिलान्यास

चितवन, माघ ५-
भरतपुर महानगरपालिका–२२ पटिहानीमा बन्ने घरेलु उपज प्रदर्शनी कक्षको आज शिलान्यास भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ९१ लाख लागतमा बन्ने सो प्रदर्शनी कक्षको आज शिलान्यास गरेकी हुन् ।
कक्षको शिलान्यास गर्दै प्रमुख दाहालले भरतपुरको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको बताएकी छन् । उनले महानगरले पर्यटन र कृर्षिलाई एकीकृत रूपमा विकास गरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताइन् ।
नगर प्रमुख दाहालले पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गइरहेको पटिहानीमा औद्योगिक उपज प्रदर्शनी कक्ष निर्माणको लागि छनौट गरिएको बताइन् । यसले उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आर्थिक गतिबिधिमा बढावा दिने साथै स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
प्रमुख दाहालले भरतपुर महानगरपालिका शिक्षा, स्वास्थ्य, पूर्बाधार, कृषि, पर्यटनको समानुपातिक विकासमा योजनाबद्ध ढंगले दिगो र आत्मनिर्भर विकासको क्षेत्रमा कृयाशील रहेको बताउँदै यसबाट अत्याधिक लाभ लिन महानगरबासीलाई आग्रह गरिन् । मेयर दाहालले अबका दिनमा महानगरपालिका विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै सम्पूर्ण आयोजनाहरू आफ्नै कार्यकालमा पूरा गर्ने योजनाका साथ अगाडि बढेको जानकारी दिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला औद्योगिक विकास समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत् उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताए । डल्लाकोटीले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनी कक्षले यस क्षेत्रको औद्योगिक पर्यटकीय गतिबिधिको विकास र विस्तारमा सहयोग हुने उल्लेख गरे ।
प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुंगानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै निर्माणाधीन औद्यौगिक प्रदर्शनी केन्द्रले यस क्षेत्रको औद्योगिक तथा घरेलु उपजको बजारीकरण र उत्पादन वृद्धिमा सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनी कक्षले यहाँको पर्यटन प्रवद्र्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनी कक्षका बारेमा आफ्नो धारणा राखेका थिए । वडा नम्बर २२ को कार्यालय परिसरमा निर्माण हुने औद्योगिक प्रदर्शनी कक्ष एक वर्षभित्र निर्माण सम्पन्न हुने छ । प्रदर्शनी कक्षले स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शन र बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
























