Breaking News

चितवन प्रहरी प्रमुखका लागि नयाँ भवन, टहरोको बास हट्यो

Banner

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, माघ ४

जिल्ला प्रहरी कार्यालयका प्रमुखका लागि नयाँ भवन बनाइएको छ । उक्त भवनको आज आइतबार वागमती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उद्घाटन गरेका हुन् । चितवन प्रहरी प्रमुख टायलले छाइएको टहरोमा बस्दै आएका थिए । उक्त भवन निकै पुरानो थियो ।

भवनको उद्घाटनमा प्रहरी नायव महानिरीक्षक लामाले वागमती प्रदेश प्रहरीले जनतासँगको साँझेदारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अन्य जिल्लाको तुलनामा चितवन निकै संवेदनशील जिल्ला भएको बताउँदै उनले चितवनमा धेरै अपराधका घटना हुने गरेको बताए । यस जिल्लामा आउने नेतृत्वले निकै सक्रियताका साथ काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । जिल्लामा हालका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक नान्तिराज गुरुङले निकै राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गरिहहेको पाइएको भन्दै लामाले गुरुङको प्रशंसा गरे ।

नागरिकलाई कसरी प्रहरी सेवा सहजरुपमा दिन सकिन्छ र उनीहरुले प्रहरीबाट के अपेक्षा गरेका छन् भन्ने कुरामा वागमती प्रदेश प्रहरी संवेदनशील रहेको उनको भनाइ छ । सबै स्थानीय तहमा गुनासो तथा सुझाव पेटिका राखिएकाले त्यसमार्फत पनि प्रहरीलाई गुनासो तथा सुझाव दिन जनमानसलाई आग्रह गरेका छन् ।  अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई आग्रह गर्दे उनले उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गरिने बताए । वागमती प्रदेशमा ४० प्रतिशत प्रहरीको अभाव भएको उनले बताए । कोभिडका कारण भर्ना पक्रिया सुरु हुन नसक्दा प्रहरीको अभाव हुन थालेको उनको भनाइ छ ।

वागमती प्रदेश प्रहरीका इन्जिनियर एवम् प्रहरी उपरीक्षक इश्वर थापाले कुल ५९ लाख ७ हजार ७०२ रुपैयाँको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । उक्त भवन एक र आधा तले अर्थात् डेढ तले रहेको छ । भवनभित्र प्रमुखका लागि सुत्ने कोठासहित, भान्छा घर र बैठक कक्ष रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तिराज गुरुङले जिल्लामा शान्तिसुरक्षा कायम राख्न आफूहरु सक्रियरुपमा लागिरहेको बताए । उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी चितवन प्रहरीले काम गरिरहेको उनले जनाए । चितवनमा हाल ट्राफिकसहित ७५० प्रहरी रहेका उनले जनाए ।

चितनवनमा अपराध नियन्त्रण अत्यन्तै चुनौतीपूर्ण भएको बताउँदै उनले यसलाई परास्त गर्न निकै कठिन रहेका बताए । चितवनमा जनसंख्या वृद्धिका साथै शहरी क्षेत्रको विकास हुँदै गएकाले अपराधिक गतिविधि बढ्दै गइरहेको उनको भनाइ छ । पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गइरहेको जनाउँदै उनले सबैलाई सजग हुन आग्रह गरे । कार्यक्रममा प्रहरीले सञ्चालन गरेको ‘सय स्थान सय साँझेदारी’ अभियानमा सक्रियरुपमा कार्य गर्ने समाजसेवी तथा पत्रकारलाई सम्मान गरिएको थियो । यस्तै प्रहरी दिवसका दिन सम्मान गर्न छुटेकालाई पनि सम्मान गरिएको थियो । प्रहरी दिवसमा विभिन्न सामाजिक संघसंस्था तथा मिडियामा आवद्ध भइ प्रहरीलाई सहयोग पुर्‍याउनेलाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा प्रहरीले प्राथमिक उपचारसम्बन्धी डेमो देखाएका थिए । घटना स्थलमा कसरी प्राथमिक उपचार गर्ने भन्नेबारे देखाइएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, विभिन्न संघसंस्थामा आवद्ध भइ समाज सेवामा लागेका व्यक्तिलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>