Breaking News
अब शाकाहारी आन्दोलनले पुग्दैन, आवेग प्रदर्शन गर्नुपर्छ: प्रचण्ड

काठमाडौं, माघ ४-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई आक्रामक र आवेगयुक्त बनाउन निर्देशन दिएका छन् ।
आइतबार नेकपा, प्रचण्ड–माधवकुमार नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले २०६२\६३ को जनआन्दोलनको स्मरण पनि गरे । तिनताका अग्रपंक्तिमा रहेका गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले टाउकामा लाठी खाएको बताउँदै यसपटक आफ्नो पनि टाउको चिलाएको बताएका हुन् । ‘यसपटक हामी अग्रपंक्तिमा हुनेछौं । किन, किन मेरो पनि टाउको चिलाएको छ । लाठी खान मन छ,’ उनले भने । उनले शान्तिपूर्ण प्रदर्शनले मात्रै नपुग्ने बताए ।
‘अब शाकाहारी आन्दोलनले पुग्दैन’ उनले मुठभेडमै उत्रनेतर्फ संकेत गर्दै भने, ‘यस्तो शाकाहारी आन्दोलन कति गरियो गरियो । अब यस्तो आन्दोलने हुँदैन । आवेगयुक्त प्रदर्शनको जरुरी छ । त्यसका लागि युवा–विद्यार्थी तयार हुनुपर्छ ।’
उनले केपी ओली प्रतिगमन, प्रतिक्रान्तितर्फ गइसकेकाले उनको कदमलाई सफल हुन दिन नहुने पनि बताए । संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसतर्फ शंका नगरे पनि ओली गुटले सबैतिर ‘सेटिङ’ छ भन्दै हिँडेकाले त्यसप्रति सशंकित हुनुपर्ने बताए ।
























