Breaking News

रामचन्द्र पौडेलको व्यङग्यः ‘सभापति देउवाको तालुमा आलु फल्या, फेरि प्रधानमन्त्री बन्न बेर छैन’

Banner

चितवन, माघ ३–

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यंग्य गर्दै फेरि पनि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।

चितवनको भरतपुरस्थित शारदानगर टाउनमा आज (शनिबार) आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले संसद पुर्नस्थापना हुँदा काँग्रेसलाई कुनै नोक्सान नहुने भन्दै काँग्रेसकै नेतृत्वमा पुनः सरकार बन्न सक्ने औल्याए । उनले भने–‘प्रतिनिधिसभा पुर्नस्थापना भएमा काँग्रेस नै निर्णायक हुन्छ, त्यसैले हाम्रो सभापति ज्यूको तालुमा आलु फल्या फेरि पनि प्रधानमन्त्री हुने बेर छैन ।’
नेता पौडेलले सत्ताको लोभ, सांसद बन्ने लोभ काँग्रेसजनले अहिले गर्न नहुने भन्दै पहिले संविधान र लोकतन्त्र बचाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘खेत रहे न बाली आउँछ, खेतै रहेन भने कसरी आउँछ, अहिले खेत बचाउँ’–नेता पौडेलले भने ।

अदालतलाई पनि तह लगाउने दृष्टता स्वरुप केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । अदालतबाट जबरजस्ती आफ्नो पक्षमा फैसला ल्याउछु भनेरै संसद विघटनको दुस्साहस गरिएको बताए । संविधान बनाउँदा केपी ओली र विद्या भण्डारी समेत संगै रहेको स्मरण गर्दै नेता पौडेलले संसद विघटन हुनै नसक्ने अवस्थामा कसरी संसद भंग गरियो भनेर प्रश्न गरे ।

वरिष्ठ नेता पौडेलले प्रतिनिधि सभा विघटन सामान्य रुपमा नभएको भन्दै धेरै ठूलो राष्ट्र विरोधी षड्यन्त्र स्वरुप विघटनको अवस्थामा पुगेको बताए । उनले नेपाललाई उन्नती विकास, सुखी र सम्बृद्धि हुन नदिने दुष्चक्रमा फसाउने कदमको संसद विघटन रहेको बताए ।

लोकतन्त्र बचाउने हो भने प्रतिनिधिसभा पुर्नस्थापना हुनु पर्ने भन्दै नेता पौडेलले यो भन्दा अर्को विकल्प नरहेको बताए । यस्तै नेता पौडेलले अझै पनि नेपाली जनतामा अदालतप्रति विश्वास र भरोसा रहेको भन्दै प्रधानन्यायधीश र न्यायधीशहरुलाई नेपाली जनतालाई न्याय दिन आग्रह गरे ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवंभ सांसद डिला संग्रौला, काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले सम्बोधन गरेका थिए । कार्यक्रममा ५० जना भन्दा बढी व्यक्ती नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>