Breaking News

चितवनको पहिलो आकाशे पुल रत्ननगरको टाँडीमा, नगरप्रमुख वनद्वारा उद्घाटन

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस ३ – रत्नगनगर नगरपालिकाको टाँडी चोकमा बनाइएको आकाशे पुलको उद्घाटन गरिएको छ । उक्त आकाशे पुल चितवनको पहिलो हो ।

आज (शनिबार) रत्ननगरपालिकाका प्रमुख नारायण वनले सो पुलको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख वनले सडकको दुबैतर्फ घना वस्ती भएको र राजमार्गमा सवारी चाँप पनि बढ्दै गएकाले आकाशे पुलको निर्माण गरिएको जानकारी दिए ।

आकाशे पुल बनेपश्चात सर्वसाधारणहरुलाई बाटो काट्न सहज हुने उनको भनाइ छ । सबैलाई सोही आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दै उनले जोखिम मोलेर सडकबाटै बाटो नकाट्न आग्रह गरे ।

रत्ननगरमा थुप्रै विकासका कामहरु भएको चर्चा गर्दै नगर प्रमुख वनले रत्नगनगरलाई साँच्चै रत्न बनाउन नगरपालिका लागिरहेको बताए । उनले सौराह चोक र बकुलहर चोकमा पनि आकाशे पुल बनाउने तयारी थालिएको जनाए । नगरवासीहरुको साथ भएमा आफूले जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै उनले नगरवासीलाई साथ दिन आग्रह गरेका थिए । उनले नगरपालिकालाई बुटिक नगरपालिका बनाउन लागेको समेत बताए ।

२०७६ साल फागुन २ गतेबाट निर्माण सुरु गरिएको उक्त आकाशे पुल २०७७ साल पुस २२ गते सम्पन्न भएको थियो । पुल २ करोड ३९ लाख ९२ हजार २७० रुपैयाँको लागतमा फलामबाट निर्माण गरिएको हो । पुल निर्माणको जिम्मा हिम सगरमाथा कन्स्ट्रक्सनलाई दिइएको थियो । सडक चौडा बनाउनु परेको खण्डमा उक्त पुललाई सजिलै सार्न मिल्ने गरी बनाइएको छ । ४२.३ मिटर लामो रहेको उक्त पुलको सडकदेखिको उचाई ५.५ मिटर रहेको छ ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ रत्नननगर इकाइ, सुरक्षा निकाय, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>