मकवानपुर

हेटौंडामा तेस्रो थारु माघी महोत्सव मनाईयो

Banner

हेटौंडा, माघ १–

थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ । सांस्कृतिक कार्यक्रमका साथमा थारुको परिकारको स्टल तेस्रो थारु माघी महोत्सवमा राखिएको थियो ।

महोत्सवमा घुंगीको बिशेष परिकार, माछा, हाँसको मासु, भुजाको लड्डु लगायतको खानेकुरा स्टलमा राखिएको थियो । महोत्सवमा थारु विद्यार्थी सभा, थारु युवा सभा, थारु महिला सभा लगायतले थारु, नेपाली र हिन्दी गित गायन, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।
महोत्सवमा थारु भषा, कला, संस्कृति संरक्षण एवं सम्वद्र्धनमा योगदान पुर्‍याएको भन्दै मकवानपुरमा कार्यरत विभिन्न जिल्लाका थारु अगुवालाई सम्मानपत्र प्रदान गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउँदै प्रवद्र्धन गर्ने उद्देश्यले विगत ३ वर्षदेखी महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभाले जनाएको छ ।

उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा माघी महोत्सव मूल समारोह समिति संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल तामाङ्ग घेदुङ वागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान र नेपाल भारतमैत्री बहुप्राविधिक शिक्षालय हेटौंडाका प्रमुख रामशरण चौधरीको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा थारु महिला सभाकी केन्द्रीय उपाध्यक्ष अमिता चौधरी, नेपाल आदिवासी जनजाती महासंघ हेटौंडाका अध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना मगर, नेपाल कुमाल समाज सेवा सुधार समिति मकवानपुरका अध्यक्ष भैरवबहादुर कुमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
माघी पर्व आदिवासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो । यसपर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>