Breaking News

रत्ननगरको आठौं नगर सभा: वास्तविक भूमिहीनलाई लालपुर्जा दिने प्रस्ताव पारित

Banner

चितवन, पुस २९-

रत्ननगर नगरपालिकाको आठौं नगर सभाले वास्तविक भूमिहीनलाई मात्र लालपूर्जा वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बुधबार सम्पन्न नगर सभाले भूमिहीनलाई लालपुर्जा वितरण सहित बजेट रकमान्तरको लागि कार्यपालिकालाई जिम्मेवारी दिने, मेयरसँग उद्यमशिलता कार्यक्रम सञ्चालनको लागि नेपाल बैंकसँग गरेको सम्झौता लगायतका प्रस्ताव पारित गरेको हो ।

नगर सभामा मेयर नारायण वनले प्रस्तुत गरेको वास्तविक सुकुमबासीलाई मात्र लालपुर्जा वितरण गर्ने लगायतका प्रस्तावमा नगर सभाका सदस्यहरुले सहमति जनाउँदै एकमतका साथ पास भएको थियो । सभामा मेयर वनले कुनै लोभ लालचमा नपरी बास्तविक सुकुमबासी र भूमिहीनलाई मात्र लालपूर्जा वितरण गर्न नगर सभाबाट म्याण्डेड पाएको भन्दै सोही अनुसार नै काम गर्ने बताए । सुकुमबासी र भूमिहीनलाई लालपूर्जा वितरणको लागि वडागत रुपमा फारम भर्ने काम भइरहेको भन्दै मेयर वनले अबको केही दिनमा लालपुर्जा सिरानीमा हालेर निदाउने सुकुमबासी समुदायको सपना पूरा गर्ने बताए ।

सो नगरपालिकाले कोरोनाको प्रभावका कारण चालु आर्थिक वर्षको छ महिनामा विनियोजित बजेट मध्ये १८ दशमलब १२ प्रतिशत मात्र खर्च भएको जनाएको छ । छ महिनामा चालु खर्च २१ दशमलब ९२ प्रतिशत, पूँजिगत खर्च १३ दशमलब ४७ प्रतिशत खर्च भएको लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । चालु आर्थिक वर्षको ६ महिनाको अबधिका सो नगरपालिकाले ४० प्रतिशत राजश्व संकलन गरेको छ । नगर सभामा राजस्व परामर्श समितिकी संयोजक तथा उपमेयर विमला दुवाडीले प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको र पुस २८ गते सम्म चार करोड १५ लाख ११ हजार रुपैयाँ संकलन भएको जानकारी गराइन् । कोरोना महामारीको कारण विकास निर्माणका काममा ढिलाइ भएका कारण बजेट खर्च कम भएको उपमेयर दुवाडीले बताइन् । उनले कोरोनाका कारण आर्थिक क्षेत्र घरासायी बनेका कारण राजस्व संकलन सन्तोषजनक हुन नसकेको बताइन् ।

नगर सभामा उपमेयर दुवाडीले योजना अनुगमन तथा सुपरीवेक्षण समिति, न्यायिक समितिको प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन् । नगर सभामा लेखा समितिका संयोजक लालबहादुर भट्ट, विधायन समितिका संयोजक तिलक शर्मा पौडेल, पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठ, विपद् वन तथा वातावरण समितिका संयोजक बलराम दाहाल, सामाजिक विकास समितिका संयोजक केशव आचार्य, आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराईले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर सभामा मेयर नारायण वनले नगरपालिकाको अगुवाइमा नगर भित्र गौरवका योजनाहरु निर्माण भइरहेको बताए । उनले नगरको गौरव योजनाअन्तर्गत सम्भावित दुर्घटना न्यूनीकरण र बजारलाई व्यवस्थित गर्न टाँडीचोकमा आकाशेपुल निर्माण कार्य सम्पन्न भइसकेको र अबको केही दिनमा उद्घाटन गरी सञ्चालनमा ल्याउने बताए । सौराहाको पर्यटनको विकासको लागि सौराहामा एक हजार ५०० अट्ने सिटीहल र वडा नं ९ मा होम स्टेसहितको इको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

चितवनमा थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टिकौलीचौरमा कृष्णसार ल्याउन प्रक्रिया सुरु भइसकेको भन्दै उनले पशुपालनलाई व्यवस्थित गर्न टिकौलीमै पशुपंछी हाटबजार निर्माणाधिन अवस्थामा रहेको बताए । मेयर वनले नगरको शिक्षालाई अर्थपूर्ण बनाउन पाँच वटा सामुदायिक विद्यालय प्राविधिक शिक्षा सञ्चालन गरेको जानकारी दिए । नगर सभामा प्रस्तुत भएका योजनाहरु सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>