चितवन विशेष

सप्तगण्डकी क्याम्पसमा आमसञ्चारका विद्यार्थीलाई तीन दिने कार्यशाला

Banner

भरतपुर, पुस २७-

सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीलाई तिन दिने कार्यशाला आजबाट सुरु भएको छ ।

सप्तगण्डकी बहुमुखी क्याम्पसको समन्वयमा अदब मिडिया प्रालिको आयोजनामा भएको कार्यशालालाई भरतपुर महानगरपालिका वडा नम्बर १० ले सहयोग गरेको हो ।

कार्यशालाको उद्घाटन गर्दै सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसका विद्यार्थीहरु देश तथा विदेशका मिडियामा सफल सञ्चारकर्मीको रुपमा काम गर्नु गौरवको विषय भएको बताए । उनले भने, ‘ आमसञ्चार तथा पत्रकारिता प्रयोगात्मक विषय हो । यसमा सैद्धान्तिक विषय भन्दा पनि काम गर्दै सिक्ने कुरा हो ।’ नयाँ प्राध्यापकहरुको संख्या थपेर भए पनि क्याम्पसले स्नात्तकोत्तर तहमा आमसञ्चार विषय अध्यापन अनुमति ल्याउने सोच बनाइरहेको बताए । क्याम्पस प्रमुख महतोले कलेजमा रहेको रेडियो र टेलिभिजनका ल्याब प्रभावकारी ढंगले नियमित सञ्चालन गर्नका लागि क्याम्पस प्रशासन सहयोग गर्न तयार रहेको बताए ।

यसैगरी कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारले सैद्धान्तिक विषयमा मात्रै आवद्ध नभई व्यवहारिक रुपमा पनि अघि बढ्नुपर्ने बताए । उनले सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई पत्रकार महासंघ सधै जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।

कार्यक्रममा क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसूदन दवाडीले नेपालमा तीव्ररुपमा विकास भएको कुनै क्षेत्र छ भने सञ्चार क्षेत्र नै हो भन्दै यस क्षेत्रमा नयाँ कुरा सिकेर कहिल्यै पनि नसकिने बताए । उनले क्याम्पसमा पहिलोपटक यसप्रकारको कार्यशाला सञ्चालन गरेकोमा अदब मिडिया प्रालिलाई धन्यवाद दिँदै यसको भरपुर उपयोग गर्न विद्यार्थीलाई अनुरोध गरे । कार्यशालाको उद्घाटन शत्रमा सप्तगण्डकी आमसञ्चार क्लबका अध्यक्ष असल गैरेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यशालाको पहिलो दिन चितवनका कान्तिपुर दैनिकका संवाददाता पत्रकार रमेशकुमार पौडेल प्रशिक्षक रहेका थिए । उनले आफ्नो पत्रकारिता अनुभव सुनाएका थिए । समाचार लेख्दा सूचना कसरी लिने, समाचारका स्रोतहरु के के छन् र समाचार लेख्दा ध्यान दिनुपर्नेलगायतका बारेमा बताएका थिए । पत्रकार भनेको सधै तयारी अवस्थामा हुनुपर्ने पौडेलले बताए । कार्यशालाको दोस्रो दिन पत्रकार प्रतिमा सिलवालले प्रशिक्षण दिँदै छन् । कार्यशालामा स्नातक तहमा आमसञ्चार विषय अध्ययनरत ३८ जना विद्यार्थीको सहभागिता रहेको छ । विसं २०६३ बाट क्याम्पसमा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन सुरु भएको हो । क्याम्पसबाट उर्तीर्ण विद्यार्थीहरु अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  मिडिया तथा संघसंस्थामा सम्वाददाता, समाचार प्रस्तोता, सम्पादक, सञ्चार विज्ञ, चलचित्र निर्देशक, कलाकार, जनसम्पर्क अधिकृत, सञ्चार अधिकृत, अनुसन्धानकर्ता र प्रवक्ताको रुपमा कार्यरत रहेको क्याम्पसले जनाएको छ । क्याम्पसका आमसञ्चार विषयका प्राध्यापक तथा अदव मिडियाका कार्यकारी निर्देशक दिपेन्द्र अधिकारीले कार्यशालाको संयोजन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>