Breaking News

सुधार गृहमा रहेकी कुस्मा भन्छिन् -‘एसएलसीको परीक्षा बिग्रिएपछि लागूऔषध दुव्र्यसनमा लागेँ’

Banner

मनिका विश्वकर्मा

चितवन, पुस २५-

  उमेरले २४ वर्ष पुगेकी (परिवर्तित नाम) कुस्माले लागूऔषध सेवन गर्न थालेको करिब १० वर्ष भयो । एसएलसीको परीक्षा बिग्रिएपछि कुस्माले साथीको संगतमा लागेर लागूऔषध सेवन गर्न थालेकी थिइन् । नशामा लाग्दा सबै पीडा भुल्ने भएकोले पनि आफूले लागूऔषध सेवन गरेको उनी बताउँछिन् । लागूऔषध सेवन गर्ने कुरा परिवारका सदस्यले थाहा पाएपछि उनलाई भरतपुर महानगरपालिका–१ रामनगरको ठिमुरामा रहेको एकता नेपाल चितवनमा राखिएको थियो ।

एकता नेपाल जहाँ लागूऔषध, मादक पदार्थ, धुमपान र मानसिक तनावमा रहेका व्यक्तिलाई सुधार गर्ने एउटा संस्था हो । कुस्मालाई पनि यही संस्थामा राखियो । उनले बिस्तारै संस्थामा आएपछि लागूऔषध छोड्न थालिन् । कुस्मा भन्छिन् ‘लागूऔषध सेवन गर्दा जीवनमा के कस्तो बेफाइदा हुन्छ भन्ने कुरा थाहा पाएपछि मैले पनि यो छोडिदिए ।’ कुस्माले २०६७ सालबाट लागूऔषध सेवन गर्न सुरु गरेकी थिइन् । एक वर्ष संस्थामा बसेर बाहिर निस्कँदा उनलाई संसार नै नौलो लाग्यो । चितवनको रत्ननगर नगरपालिकामा बस्ने कुस्मालाई समाजका मान्छेले पनि नराम्रो भन्न थाले । उनी सम्झिँदै भन्छिन् ‘म सुधार भएर अब केही गर्छु भन्ने नयाँ सोच लिएर बाहिर निस्केको थिए तर मैले त्यो सपना पूरा गर्न सकिन । नखाँदा पनि मलाई ट्यापे, गजडी जस्ता नराम्रो कुराहरु भन्न थालेपछि मलाइ फेरि पहिलाकै साथीसँग संगत गर्न मन लाग्यो ।’ घरपरिवारले बेवास्ता गरेको कारण पनि फेरी लागूऔषध सेवनमा लागेको कुस्माले बताइन् ।

कहिले पनि पुलिसको फन्दामा नपरेकी कुस्मा पुलिसको फन्दामा परिन् । कुस्मालाई कहिले त नखादै पनि प्रहरीले समातेर लैजान्थ्यो । लागूऔषधकै कारण उनले दुईचार पटक प्रहरीको कुटाइ पनि खाइन् ।  उनलाई एकता नेपाल संस्थाका केही व्यक्तिहरुले लागूऔषधबाट छुटाउनको लागि फेरि संस्थामा नै ल्याए । उनलाई अहिले लागूऔषधको रोकथामका क्षेत्रमा लागेर काम गर्न मन छ । उनले लागूऔषधमा फसेका दिदिबहिनीलाई सुधार्ने काम गर्ने लक्ष्य लिएकी छिन् । उनले भनिन् ‘यही संस्थामा लागेर आफू जस्तै लागूऔषधमा फसेका दिदीबहिनीलाई आफू जस्तै सुधारेर नयाँ जीवन दिएर पठाउने इच्छा जागेको छ ।’

त्यस्तै गाँजा सेवन गर्ने (नाम परिवर्तित) जेनिसालाई पनि दिदीले डान्सको फारम भर्ने भनेर झुक्काएर एकता नेपाल चितवनमा पठाइ दिएकी थिइन । आर्थिकरुपमा बिपन्न वर्गकी जेनिसाले सानै उमेरमा पढाइ छोडेर प्रेम विवाह गरेकी थिइन् । अहिले उनी १९ वर्षकी भएकी छन् । श्रीमान्ले कुटपिट गर्ने, पारिवारिक कलहले गर्दा गाँजा सेवन गर्न थालेको उनी बताउँछिन् । पीडा बिर्साउनको लागि गाँजा सेवन गर्न थालेको उनले भनिन् ‘मलाई सुरुमा यहाँ आउँदा निकै गाह्रो भएको थियो । भाग्न मन लाग्थ्यो । विस्तारै आफ्नै लागि हो भन्ने थाहा भएपछि गाँजा खान पनि भुल्दै छु । आफूमा सुधार हुदैँ गइरहेको छ ।’

यस्तै ३५ वर्षकी (नाम परिवर्तित) सानुदेवी चेपाङलाई मादक पर्दाथमा लाग्नुको कारण परिवारले गर्दा नै हो । उनको पनि नेवार समुदायको एक पुरुषसँग प्रेम विवाह भएको थियो । तर, तल्लो जातको समुदायको भनेर उनलाई परिवारले स्वीकार गरेन । त्यसपछि श्रीमानले पनि मादक पदार्थ सेवन गर्न थालेको उनले बताइन् । श्रीमानले बिस्तारै आफूलाई पनि मादक सेवन गर्न सिकाएपछि यो मादक पर्दाथ सेवनमा फसेको उनले बताइन् । उनका दुई छोरा समेत रहेका सानुदेवीलाई एकता नेपाल चितवनका संस्थापक अध्यक्ष शान्ता घलेले सुधारको लागि संस्थामा ल्याइन् । सानुदेवीले अहिले चटक्कै मादक पदार्थ छोडेको घलेले जानकारी दिइन् । सानुदेवी भन्छिन् ‘मादक पदार्थ खान हुन्न भन्ने थाहा भएपछि अहिले छोडिदिएकी छु ।’

अहिले सानुदेवी त्यही संस्थामा १० हजार तलबमा भान्साको काम गर्छिन् । उनका छोरालाई पनि संस्थाले नै पढाइरहेका छन् । श्रीमान्लाई पनि संस्थाले सुधारका लागि राखेका छन् ।  एकता नेपाल चितवनले हालसम्म ८३० जना महिलालाई सुधार गरेर घर पठाइसकेको छ भने अहिले संस्थामा २२ जना महिला रहेका छन् । संस्थाकी अध्यक्ष घले भन्छिन् ‘लागूऔषधमा लाग्नुको कारण समाज र परिवार नै रहेको छ ।’

१४ देखि १८ वर्षका किशोरकिशोरीहरु साथीहरुको संगत, पढाइ बिग्रेको र रमाइलोको लागि भनेर लागूऔषधमा फस्ने र १८ देखि २५ वर्षका युवायुवतीहरु भने पारिवारिक, सामाजिक कारणले फस्ने संस्थाको अध्यक्ष घलेले बताइन् । सेवकलाई चटक्कै लागूऔषध छुटाउन गाह्रो हुने भएकोले दिनको चार पटक चुरोट र सुर्ती चाहीँ खान दिने उनले बताइन् । संस्थामा मोबाइल फोनको प्रयोग गर्न पाइदैन । संस्थामा उनीहरुलाई लागूऔषध सेवन गर्दा हुने असरबारे परामर्श दिने, योगा गराउने, सकारात्मक कुराहरु सिकाउने साथै सिपमूलक कार्यहरु पनि सिकाइने घलेले जानकारी दिइन् ।

चितवनमा लागूऔषध प्रयोग बढ्दो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनमा लागूऔषध प्रयोग बढेको जनाएको छ । चालु आर्थिक वर्ष २०७७\७८ पुस महिनासम्म मात्रै लागूऔषधको कारण चितवनमा ४६ जना पक्राउ परेका छन् । जसमा दुई जना महिला र ४४ पुरुष रहेका छन् ।
चितवनमा १५ देखि २५ वर्ष उमेरसमूहका व्यक्तिहरु लागूऔषधको कारण पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । र्आिथक वर्ष २०७६\७७ मा लागूऔषधका ८५ वटा मुद्दा दर्ता भएको थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>