Breaking News

चितवनमा बढ्दै सम्बन्ध विच्छेदका घटना,चालु आर्थिक वर्षमा २१८ जनाले गरे सम्बन्ध विच्छेद

Banner

मोनिका विश्वकर्मा,

चितवन,पुस २३-

चितवनमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएका छन् । पछिल्लो समय वैदेशिक रोजगार, पारिवारिक कलहलगायतका कारणले सम्बन्ध विच्छेदका घटनाहरु बढेका हुन् । चितवन जिल्ला अदालतले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पुस २० गतेसम्म जिल्लाका ३५८ जनाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन् । मुद्दा दर्ता गर्नेमध्ये २८६ महिला र ७२ जना पुरुष रहेका चितवन जिल्ला अदालतकी शाखा अधिकृत पद्मादेवी शर्माले जानकारी दिनुभयो । यसवर्ष सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेकामध्ये २१८ जनाको सम्बन्ध विच्छेद भइसकेको छ भने १४० जनाको मुद्दा फैसला हुन बाँकी छ ।

आर्थिक वर्ष २०७५/०७६ र २०७६/७७ सम्मको दुई वर्षको अवधिमा जिल्लामा एक हजार ६०२ जनाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका थिए । जसमध्ये १ हजार ११८ जनाको सम्बन्ध विच्छेद भएको छ । बाँकी ४८४ मुद्दा चालु अवस्थामा नै रहेका छन् । मुद्दा दर्ता गर्नेहरुमा महिलाहरुको सङ्ख्या बढी रहेको अदालतले जनाएको छ ।

अदालतका स्रेस्तेदार  ईश्वर आचार्यकाअनुसार पछिल्लो समय चितवनमा सम्बन्ध विच्छेदका घटना बढिरहेको छ । कोभिड–१९ को समयमा झन् यो सङ्ख्या बढिरहेको आर्चायको भनाइ छ । महिला र पुरुषलाई समान अधिकारको प्रत्याभूति गर्दै पुरुष पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्थासहितको कानुन बनेपछि पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरिरहेको आर्चायले बताउनुभयो ।

मुलुकी संहिता लागू हुनुपूर्व महिलाले सम्बन्ध विच्छेदका लागि सिधै अदालतमा जान पाउने व्यवस्था रहे पनि पुरुषले भने स्थानीय तह हुँदै विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध विच्छेदका लागि अदालत जान पाउने व्यवस्था थियो । तर ‘मुलुकी देवानी संहिता २०७५’ भदौ १ गतेबाट लागू भएपछि सम्बन्ध विच्छेद सम्बन्धी कानुनी व्यवस्था अनुसार पुरुषले पनि सिधै अदालतमा गएर मुद्दा दर्ता गर्न पाइने भएकोले यो मुद्दा बढिरहेको अधिवक्ता फूलमाला रानाभाटले बताउनुभयो ।

अधिवक्ता कृष्ण प्रसाद पन्तले असझदारीको कारणले सम्बन्ध विच्छेद हुने बताउनुभयो । महिला पक्षको मुद्दामा शारीरिक, मानसिक तनाब भएको खण्डमा सम्बन्ध विच्छेद गर्ने गरेका उहाँले बताउनुभयो । पतिको अन्य व्यक्तिसँग सम्बन्ध रहेमा, घरयासी झै–झगडाका कारण महिलाहरुले सम्बन्ध विच्छेद गर्ने गर्छन् । अहिले धेरै वैदेशिक रोजगारको कारणले पनि सम्बन्ध विच्छेद हुने उहाँले बताउनुभयो । पछिल्लो समय महिलाले अंश नलिइकन सम्बन्ध विच्छेद गर्ने सङ्ख्या पनि बढिरहेको पन्तले बताउनुभयो ।

लेखक एवं अधिवक्ता सरिता तिवारीकाअनुसार सम्बन्ध विच्छेद बढ्नुको कारण महिला आत्मनिर्भर हुनु पनि हो । अहिले सम्बन्ध विच्छेदका मुद्दाहरु थोरै समयमा नै फैसला हुने भएको छ । पहिला एउटा मुद्दा फैसला हुनको लागि धेरै समय लाग्थ्यो भने अहिले एक वर्षमा नै मुद्दाको फैसला हुने गरेको तिवारीले बताउनुभयो ।  महिलाहरु चेतनशिल भएको कारण पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको भन्दै उहाँले भन्नुभयो, ‘महिलाहरुलाई अहिले अन्याय भनेको के हो भन्ने थाहा भइसकेको छ ।’ सम्बन्ध विच्छेद गर्दा श्रीमान वा श्रीमतीको सामाजिक, मानसिक तथा शारीरिक अवस्थामाथि आई पर्ने आकस्मिक समस्याबाट बच्ने हिसाबले गर्ने गरेको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>