Breaking News
कांग्रेसले प्रधानमन्त्रीको कदम विरुद्ध आँधीहुरी सिर्जना गर्छ: नेता पौडेल

चितवन, पुस २१-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्रीको संसद विघटनको असंवैधानिक कदम विरुद्ध कांग्रेसले आन्दोलनको आँधीहुरी सिर्जना गर्ने बताएका छन् ।
आज भरतपुर विमानस्थलमा पत्रकारसँग भएको छलफलमा नेता पौडेलले प्रधानमन्त्रीको कदम लोकतन्त्र र संविधान विरोधी भएकोले नेपाली कांग्रेसले चरणबद्ध आन्दोलनको कार्यक्रम गर्दै आन्दोलनको आँधीहुरी सिर्जना गर्ने बताएका हुन् । उनले भने, ‘ नेपाली कांग्रेस संविधानवादमा विश्वास गर्ने पार्टी हो । पार्टीले सुरुदेखिनै ओलीले चालेको कदम असंवैधानिक हो भनेर सुरु देखि भन्दै आएको छ । ओलीलाई आन्दोलनमार्फत् सच्याउनुपर्छ ।’
नारायणगढ जेसीसको पद हस्तान्तरण कार्यक्रम तथा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ ‘ख’ अन्तर्गतका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न नेता पौडेल चितवन आएका हुन् । उनलाई भरतपुर विमानस्थलमा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले स्वागत गरेका थिए ।
























