Breaking News

चितवन साहायता कोष बेल्जिएमद्वारा निर्माणाधीन रंगशालालाई १५ लाख बढी सहयोग

Banner

चितवन, पुस २०-

चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालाको लागि चितवन सहायता कोष बेल्जियमले धुर्मुस सुन्तली फाउण्डेसनलाई १५ लाख ४२ हजार रकम सहयोग गरेको छ ।

निर्माणाधीन रंगशालामा आज पुगेर चितवन सहायता कोष बेल्जियम चितवनका प्रतिनिधि तथा जनप्रतिनिधिको उपस्थितिमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सो रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले विदेशमा रहेका नेपालीबाट सहयोग पाउँदा खुसी लागेको बताए । उनले कोरोना जस्तो विषम परिस्थितिमा पनि रंगशाला काम निरन्तर रहेको बताउँदै रंगशालालाई आर्थिक सहायता गर्ने प्रति धन्यवाद दिँदै थप सहयोगको अपेक्षा गरे । रंगशाला निर्माणमा आर्थिक संकट परेको बताउँदै अध्यक्ष कट्टेलले सबै सहयोगदाताले मुठ्ठी खुला राखे अबको एकवर्ष भित्र अन्र्तराष्टियस्तरको रंगशाला निर्माण सम्पन्न हुने जानकारी दिए ।

रंगशाला निर्माणको लागि लगाइएको महायज्ञमा बोलकबोल अनुसारको पैसा उठ्न नसकेको पनि उनले गुनासो गरे । ‘७९ करोड रकम बोलकबोल भए पनि जम्मा ९ करोड मात्र रकम संकलन हुन सकेको छ । स्थानीय तहले बोलेकै अनुसार पैसा सहयोग गरेमा रंगशाला समयमै बन्छ’ उनले भने ।

सोही अवसरमा प्रदेश सांसद मिलनबाबु श्रेष्ठले रंगशाला निर्माणको काम ऐतिहासिक रहेको बताउँदैं प्रदेश सरकारको तर्फबाट हुने भूमिकाको लागि सदैव तत्पर रहेको बताए । यस्तै भरतपुर महानगर उपप्रमुख पार्वती शाहले देशकै केन्द्रबिन्दुमा निर्माणाधीन रंगशालाका लागि महानगरले गर्नुपर्ने सहयोग तथा प्रदेश र केन्द्र सरकारलाई झकझकाउनका लागि निरन्तर लागिपरेको बताइन् ।

यस्तै सोहि कार्यक्रममा भर्चुअल रुपमा जोडिदै चितवन साहयता कोष बेल्जियमका अध्यक्ष रामचन्द्र सुवेदी (भुवन)ले निरन्तर रुपमा शिक्षा, स्वास्थ्य लगायतका  विभीन्न क्षेत्रमा साहयता कोषले सहयोग गरेको बताउँदै चितवनमा हुने विभीन्न योजनाका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बन्नु खुसीको खवर रहेको बताउँदै देशकै गौरवको आयोजनालाई सहयोग पु¥याउने उद्देश्यले बेल्जियममा रहेका नेपालीले सहयोग गरेको बताए । सो कामको लागि चितवन साहायता समाजले समन्वयकारी भूमिका खेलेको बताए ।

यस्तै चितवन साहायता कोषका संस्थापक अध्यक्ष हरिप्रसाद न्यौपानेले कामको लागि भौतिकरुपमा विदेशमा भए पनि मनले नेपालमै हुने नेपाली दाजुभाई दिदीबहिनी आफ्नो गास काटेरै भए पनि आर्थिक रुपमा योगदान गरेको जनाए । कार्यक्रममा चितवन साहयता कोष बेल्जियम उपाध्यक्षका राजु घिमिरे, महासचिव इश्वरी प्रसाद कँडेल , सचिव शंकर बजगाई, कोषकै आजीवन सदस्य सरु चापागाई तथा चितवन सहायता कोष युकेका उपाध्यक्ष राम भट्टराई ,एनआरएनका उपाध्यक्ष अर्जुन श्रेष्ठ  र क्षेत्रीय रक्तसञ्चार भरतपुरका प्रमुख रमेशकान्त पौडेल लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>