Breaking News
भरतपुरमा २७ करोडको जखेडीमाई खानेपानी आयोजनाको शिलान्यास, १५ हजार नागरिक लाभान्वित हुने

चितवन पुस १९-
स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यसहित भरतपुरमा जखेडीमाई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।
भरतपुर महानगरपालिका–११ को जखेडीमाईमा निर्माण हुन लागेको खानेपानी आयोजनाको आज भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।
नेपाल सरकारको खानेपानी मन्त्रालय र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा खानेपानी आयोजना निर्माण हुन लागेको आयोजनाको लागत २७ करोड ४७ लाख रहेको भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले नारायणी अनलाइनलाई बताए । भरतपुर ११ र १० नं वडा का १५ हजार जनसंख्या खानेपानीबाट पत्यक्ष लाभान्वित हुने उनले बताए । ‘खानेपानी आयोजनामा दुई वटा बोरिङ बनाएर दुई ओभरहेड ट्यांकी मार्फत् ७५ किलोमिटर पाइपलाइन बिछ्याएर पत्येक घरमा पानी पुर्याइने छ । आयोजना सुरु भएको दुई वर्षमा सम्पन्न हुने लक्ष्य रहेको छ’ दाहालले भने ।

सो आयोजनाको लागि गत असार ४ गते सीएबी प्रेररा जेभी कम्पनीले ठेक्का पाएको छ भने २०७९ सम्म सम्पन्न गर्ने प्रतिबद्धता लिएको छ । भरतपुर–११ का वडाअध्यक्ष बाबुराम अधिकारीले स्थानीय तहमा बढ्दो खानेपानीको अभाव समाप्त हुने विश्वास व्यक्त गरे । वडा नं ११ मा धेरैजसोले ट्युबबेलको पानी पिउने गरे पनि पछिल्लो समयमा पदूषित भएकाले शुद्ध खानेपानीको लागि सो आयोजनाबाट स्थानीयबासी लाभान्वित हुने वडा अध्यक्ष अधिकारीले बताए । शिलान्यास कार्यक्रममा उधोग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठलगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
























