चितवन विशेष
सडकमा बस्दै आएका रामकुमारलाई रत्ननगरका युवाहरुले बनाई दिए घर

चितवन, माघ १८–
चितवनका युवाहरुको एक समूहले सडक छेउको प्रतिक्षालयमा जीवन बिताइरहेका रामकुमार जोशीलाई घर बनाई दिएका छन् । आज (आइतबार) एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीको प्रमुख आतिथ्यतामा जोशीलाई घर हस्तान्तरण गरिएको हो ।
विभिन्न व्यक्तिहरुको सहयोगमा रत्ननगर–१४ मा निर्माण गरिएको उक्त घर आइतबार हस्तान्तरण गरिएको अभियानकर्ता एवंम हेल्प फर निड्डी पिपुल अभियानका संयोजक सरोजध्वज भण्डारीले जानकारी दिए । लामोसमयदेखि प्रतिक्षालयमा जीवन बिताइरहेका जोशीलाई घर बनाइ दिने प्रतिवद्धता अनुरुप उनलाई घर हस्तान्तरण गरिएको भण्डारीले बताए ।
सो घर निर्माणमा युवा व्यवसायी तथा समाजसेवीहरु कुमार मगर, कृष्ण मगर र रुबि तामाङ्गलगायतले आर्थिक सहयोग गरेका थिए । युवा समाजसेवी भण्डारी नेतृत्वको युवा समूहले विभिन्न समयमा यस्ता सहयोगहरु गर्दै आइरहेको छ । देशलाई स्वच्छ र हरियाली बनाउन सरसफाई अभियानको समेत थालनी गरेका युवा भण्डारीले समाजमा सहजरुपमा जिविकोपर्जन गर्न नसकेका व्यक्तहरुलाई सहयोग गर्दै आइरहेको छ ।
























