Breaking News

देउवालाई गगनले भनेः कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्‍छन्

Banner

काठमाडौं,माघ १६-

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अदातको बारेमा बोल्दैनौँ भन्नेहरु कायर भएको बताएका छन्। शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता थापाले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेर कांग्रेसले बोलिसकेको बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसबारेमा नबोल्ने बताइरहेका बेला नेता थापाले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।नेता थापाले आफूहरु बीपी कोइरालाका कार्यकर्ता भएको बताउँदै प्रतिनिधि सभा विघटनविरुद्ध चुप नबस्ने बताए।

‘केही साथीहरु के भन्नुहुन्छ भने, अदालतका बारेमा बोल्नु हुँदैन। म फेरि भन्छु, बीपी कोइरालाको पार्टीको कार्यकर्ता हौँ हामीहरु र यही बीपी कोइराला हो जसले सर्वोच्च अदालततर्फ हेरेर भन्नुभयो–यो अदालत हो श्रीमान्, न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस्, दायाँ–बायाँ, वर–पर नहेर्नुहोस्, न्याय गर्नुहोस्। विवेक पुर्‍याउनुहोस्’, उनले भने, ‘पञ्चायतका बेलामा फाँसी मुद्दा लागेका बीपीका कार्यकर्ता हौँ हामीहरु। आज रामशाह पथ देखेर परपर भागेर अदालतको बारेमा बोल्दैनौँ भन्छन् भने ती कायरहरु हुन्।’ उनले अदालतको बारेमा कांग्रेसले बोल्दैन भन्ने भ्रम नराख्न समेत आग्रह गरे। उनले कांग्रेसले पुस ५ को कदमलाई असंवैधानिक भनिसकेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>