Breaking News
राष्ट्रिय कृषि गणना–२०७८: चितवनमा थालियो तयारी, पाइलट कृषि गणना जारी

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ १४-
राष्ट्रिय कृषि गणना–२०७८ को चितवनमा तयारी थालिएको छ । तयारी सम्बन्धमा तथ्याङ्क कार्यालय चितवनले बुधबार सरोकारवालासँग जिल्लास्तरीय सचेतना गोष्ठी कार्यक्रम गरेको छ ।
गोष्ठी कार्यक्रममा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीले चितवनमा एक जना गणक र एक जना सुपरीवेक्षक गरी दुई जनाले पाइलट कृषि गणना गरिहेको जानकारी दिए ।
आगामी कृषि गणनामा गाउँपालिका\नगरपालिका सम्मको कृषि तथ्याङ्क उपलब्ध गराइने लक्ष्य राखिएको छ । विगतको कृषिगणनामा जिल्लास्तरसम्मको मात्र कृषि तथ्याङ्क उपलब्ध हुँदै आएको थियो । स्थानीयस्तरमा खण्डिकृत कृषि तथ्याङ्कको अभाव रहेकाले स्थानीयस्तरका कृषि लक्षित कार्यक्रम बनाउन समस्या देखिएको छ । आगामी कृषि गणनाले तीनै तहका सरकारहरुलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने भण्डारीले बताए ।
भण्डारीका अनुसार कृषि गणनामा मूलतः संरचनागत तथ्याङ्क जस्तै स्थायी, अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल र उत्पादन, कित्ता संख्या, जग्गाको उपभोग एवम् उपयोग, सिँचाइको अवस्था, मलखाद तथा वीउबिजनको प्रयोग, पशुपन्छीको संख्यालगायतलाई समेटिएको छ । नयाँ संघीय संरचना अनुसार आवश्यक पर्ने कृषि तथ्याङ्कको प्रवाह गर्न साथै समायानुकुल विषयवस्तु जस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पु¥याएको प्रभाव, महिलाको नाममा रहेको जग्गा, खाद्यान्नको पर्याप्तता, बालीमा विषादीको प्रकार अनुसार प्रयोग, कृषि बिमा, कृषि अनुदानको अवस्था, बाली अवशेष वा कृषिक्षेत्रबाट उत्पादित फोहरको व्यवस्थापन, कृषि मजदुरको प्रयोग जस्ता जल्दाबल्दा विषयहरुको उठान समेत आगामी कृषि गणनामा गरिने तथ्यांक अधिकृत भण्डारीले बताए । यस्तै कृषि वनको अभ्यास, हरितगृह कृषि खेती प्रणालीको अभ्यास, सरकारी सेवा सुविधामा कृषकको पहुँचलगायतका विषयहरु पनि समावेश गरिएको उनले जनाए ।
कुल ग्राहस्थ उत्पादनमा करिब एक तिहाई योगदान रहेको कृषि क्षेत्रको गुणस्तरीय तथ्याङ्क संकलन गरी सही योजना तर्जुमा गर्न सकेमा सरकारले परिकल्पना गरेको समृद्व नेपाल र सुखी नेपालीको सपना साकार गर्न कृषि गणनाबाट प्राप्त तथ्याङ्क सहायक हुने भण्डारी बताउँछन् । सबै तथ्याङ्क प्रदायक, संकलक र प्रयोगकर्ता मिलेर यो राष्ट्रिय कृषि गणनालाई सफल बनाउन आवश्यक रहेको बताउँदै उनले सबै सरोकारवालाहरु, विभिन्न तह र तप्काबाट सहयोगको अपेक्षा गरेकोे बताए ।
कृषिगणनामा देशभरी नै छनोट विधि प्रयोग गर्ने केन्द्रीय तथ्याङ्क विभागको योजना रहेको भण्डारीले जानकारी दिए । देशभर अनुमानित तीन लाख २५ हजारदेखि तीन लाख ५० हजार कृषक परिवारबाट प्रत्यक्ष अन्तरवार्ता गरी तथ्याङ्क संकलन गरिने (करिब २५ लाख कृषक परिवारको सूचिकरण गरिने) बताउँदै भण्डारीले अन्तिम नमूना छनौट कार्य बाँकी रहेको जनाए ।
नेपालमा विसं २०१८ सालदेखि हरेक दश वर्षमा राष्ट्रिय कृषि गणना हुँदै आएको छ । केन्द्रीय तथ्याङ्क विभागले गणना गर्ने गर्दछ । यसअघि २०६८ मा राष्ट्रिय कृषि गणना गरिएको थियो । २०७८ मा गर्न लागिएको कृषि गणना सातौं हो । तराई र पहाडमा २०७८ को पुस र फागुन, हिमालमा २०७९ को वैशाखमा तथ्यांक संकलन गर्ने देशव्यापी कार्यक्रम रहेको छ । जिल्ला समन्वय समिति, चितवनमा भएको गोष्ठी कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र चितवन, प्रधानमन्त्री कृषि आधुनिकीकरणलगायतका सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
























