Breaking News

माडीमा रोकिएको पुल निर्माणको काम सुचारु, छिटो ईआईएको काम सक्न निकुञ्जको निर्देशन

Banner

चितवन, माघ १४-

चितवन राष्ट्रिय निकुञ्जले हुलाकी सडकखण्डअन्तर्गत माडी नगरपालिकाका विभिन्न खोलाहरुमा रोकिएको पुल निर्माण कार्य सुचारु गर्न अनुमति दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, माडी नगरपालिका र हुलाकी सडक परियोजनाको संयुक्त बैठकले अपुग कागजपत्र पु¥याउँदै जाने शर्तमा निर्माण कार्य अगाडि बढाउने अनुमति दिएको हो ।  वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी पुल निर्माणको कार्य थालेको भन्दै निकुञ्जले पुलको काम तत्काल रोक्न पत्रमार्फत निर्देशन दिएको थियो । निकुञ्जले पत्र पठाएपछि ठेकदार कम्पनीले पुल निर्माणको काम रोकेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सडक निर्माण परियोजनालाई ईआईएका अपुग कागजपत्र तथा आवश्यक राजस्व बुझाउँदै जाने शर्तमा निर्माण अनुमति दिइएको नारायणी अनलाइनलाई बताए । भरतपुर–माडी–ठोरी हुलाकी सडक अन्तर्गत माडीका साना ठूला खोलामा गरी अहिले ११ वटा पुल बनिरहेका छन् । मगुवाई, रिउ, बगइ खोलामा बन्दै गरेका तीनवटा पुलको मात्रै वातावरणीय प्रभाव मूल्यांकन गरिएको थियो भने बाँकी ८ वटा पुलको प्रतिवेदन बुझाइएको थिएन ।

माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले थप कागजपत्र पेस गर्दै जाने सहमतिमा पुल निर्माण सुचारु गरिएको बताए । उनले प्रधानमन्त्री केपी ओलीले पुल निर्माण कार्य रोके भन्ने कुरा हल्ला मात्र भएको बताए । यसअघि निकुञ्जले रोकेको काममा प्रधानमन्त्रीलाई दोष लगाउँदै नेकपाका प्रचण्ड समर्थकले माडीमा प्रदर्शन समेत गरेका थिए ।

पुलको काम रोकिएपछि त्यस बारेमा गत सोमबार निकुञ्ज, माडी नगरपालिका र हुलाकी सडक आयोजनाका बीच छलफल कार्यक्रम राखिएको थियो । सडक डिभिजन कार्यालयले माडीको रिउदेखि १५ किलोमिटर सडक कालोपत्रे यसअघि नै सम्पन्न गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>