Breaking News
संविधानको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने अवस्था आएको छ : प्रकाशमान सिंह

चितवन, पुस १६ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।
४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको ‘राष्ट्रिय मेलमिलाप नीति र वीपी कोइराला’ विषयक एक दिवसीय प्रवचन कार्यक्रममा बोल्दै कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सरकारले संसद भंग गर्नु संविधान विपरित भएको भन्दै उनले त्यसको विरोध गर्नुपर्ने बताए । कांग्रेसको नेतृत्वमा वनेको संविधानको रक्षाका लागि अहिले कांग्रेस नै लाग्नु आवश्यक रहेको उनको भनाइ थियो ।
सही समयमा सही निर्णय लिन पार्टी नेतृत्वलाई आग्रह गर्दै उनले अहिलेको अवस्थामा पार्टीले ठोस निर्णय लिन आवश्यक रहेको बताए ।राष्ट्र, प्रजातन्त्र, संविधान जोगाउनका निम्ति सबै जिम्मेवार बन्नुपर्ने भन्दै उनले अहिलेको अवस्थामा कांग्रेस सशक्त रुपमा लाग्नुपर्ने बताए ।
देशमा राजनैतिक अस्थिरता आउन लागेको भन्दै उनले यसको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे । संविधानको भावना विपरित अहिले सरकारले काम गरिहेकाले यसले देशमा राजनितीक अस्थिरता ल्याउने उनको आंकलन थियो । संसद विघटनले देशलाई राजनैतिक अन्धकारतर्फ धकेलेको बताउँदै उनले संसद विघटन खारेज हुनुपर्ने माग राखे ।
आगामी बैशाखमा निर्वाचन हुने कुरामा विश्वास गर्न नसकिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली आँफै नै निर्वाचन हुनेमा विश्वस्त नरहेको भन्दै उनी ओलीको अन्र्तआयामी बन्न खोजेका थिए ।
पार्टी महाधिवेशनको प्रशंग निकाल्दै उनले कांग्रेसको महाधिवेशन हुन नसक्नु गलत भएको बताए ।संविधानअनुसार वैधानिकतालाई ख्यालमा राख्दै महाधिबेशन गराउन उनले नेतृत्वसँग आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, कांग्रेस चितवनका उपसभापति कैलाश कोइराला लगायतले आफ्नो धारणा राखेका थिए । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रमसम्पन्न भएको थियो ।
























