Breaking News

प्रदेशमा विकास नचाहनेहरुले अविश्वासको प्रस्ताव ल्याए: मुख्यमन्त्री पौडेल

Banner

हेटौंडा, पुस १६-

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु जनमतको दुरुपयोग भएको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रचण्ड–माधव समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । बिहीबार हेटौंडामा आयोजित ओली पक्षीय वृहत् कार्यकर्ता भेलामा मुख्यमन्त्री पौडेलले कांग्रेसका सांसदले विरोध नगर्दा नेकपाकै कार्यकर्ताले विरोध गर्दै हिँडेको बताए ।

प्रदेश सरकारले काम गरेन भन्दै आलोचना गर्नेहरुलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटार अन्तर्राष्ट्रिय रंगशाला, विभिन्न स्वास्थ्य कार्यक्रमसहित विकास नपचेको उनको दाबी छ । आफ्नो नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्नेहरुले अस्थिरता चाहेको उनको आरोप छ ।

ओली समूहका नेता समेत रहेका मुख्यमन्त्री पौडेलले नेकपा फुटाउन माधव नेपालले पुष्पकमल दाहाल प्रचण्डको साथ दिनु भनेको महाभुल भएको बताए । ढिलो चाँडो माधव नेपालहरु ओलीसँग शरण लिन आउने उनको दाबी छ ।

प्रधानमन्त्रीलाई अविश्वास र राष्ट्रपतिलाई महाअभियोग लगाउने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक कदम चालेको बताए । संविधान अनुरुप संसद विघटन गरेको भन्दै मुख्यमन्त्री पौडेलले भने ‘प्रधानमन्त्री ओलीले संविधानमा भएको व्यवस्था अनुसार नै संसद विघटन गरेका हुन् । केही मान्छेहरु असंवैधिानक कदम चालेको भन्दै सडकमा उफ्रिरहेका छन् । उनीहरुलाई केपी ओलीले लोकतन्त्र बचाएको भन्ने हेक्का होस् ।’

कार्यक्रममा युवा संघकासह संयोजक रमेश पौडेलले ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्ने प्रचण्डको दाउ, पार्टी अध्यक्ष बन्ने माधव नेपालको सोच र राष्ट्रपति बन्ने झलनाथ खनालको लोभले पार्टी अहिलेको अवस्थामा आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>