Breaking News
भारतले भन्योः ‘विवादास्पद छवि नभएकालाई नेपालको प्रधानमन्त्री बनाउन पहल भइरहेको छ’

काठमाडौं,पुस १५-
नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् ।
भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले यो पहल चीनले गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उनको लेखमा उल्लेख छ । भारत भने पर्ख र हेरको स्थितिमा रहनुपर्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘यो पछिल्लो संकट कसरी अगाडि बढ्छ हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ ।’
उनले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन नेपालका लागि चीनकी राजदूत होउ यान्छी सक्रिय भएर लागेको समेत दावी गरेका छन् । ‘निश्चय नै चाइनिज एक्टिभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ,’ उनले लेखमा भनेका छन् । उनले अगाडि भनेका छन्, ‘यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ ।’ उनले भनेका छन्, ‘के जानकारीमा आएको छ भने प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ ।’
























