Breaking News
जितनारायणले प्रचण्डलाई भनेः चितवनमा चुनाव लड्ने ठाउँ छैन, निर्वाचन क्षेत्र खोज्दै गर्नुस्

चितवन, पुस १३–
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनमा चुनाव लड्न कुनै पनि ठाउँ नभएको बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्धमा काँग्रेसले सोमबार क्षेत्र नं.२ अन्तरगत भरतपुरको चौविसकोठीमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले चितवन अब सबै काँग्रेसको ठाउँ भएको भन्दै प्रचण्डको लागि कुनै पनि ठाउँ नभएको भएको बताए । उनले भने–‘तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसले जित्छ, प्रचण्डलाई चुनाव लड्ने अब ठाउँ छैन, अन्त्य ठाउँ खोज्दै गरे हुन्छ ।’ उनले आगामि निर्वाचनमा नेकपाका जो कोही नेताको लागि काँग्रेसका सामान्य उम्मेद्वार उठे पनि काँग्रेस विजयी बन्ने दावी गरे ।
उनले काँग्रेसको समर्थनमा छोरीलाई जिताएर मेयर बनाउँदा गरिएको बाचा सम्झदै अब प्रचण्डलाई काँग्रेसले साथ नदिने स्पष्ट पारे । उनले भने–‘बसपार्कमा भाषण गर्दै अब काँग्रेससंग अहिले मात्रै होइन दश वर्ष सहकार्य हुन्छ भन्दै गरिएको उद्घोष हामीले विर्षेका छैनौं, अब कसरी, कहाँ चुनाव लड्न आउनु हुन्छ हामी पनि हेरौंला ।’
सभापति श्रेष्ठले विगतमा पटकपटक प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीलाई प्रधानमन्त्री नबनाउन र पछि पनि हटाउन प्रचण्ड–माधवलाई सुझाव दिँदा नमानेको भन्दै अहिले सडकमा पुग्नु त्यसकै परिणाम भएको बताए । उनले भने–‘हामी पहिल्यै प्रचण्ड र माधवलाई सम्झाएका थियौं, उहाँहरुले मान्नुभएन, अहिले सडकमा पुग्नु भएछ राम्रो भयो ।’ यस्तै सभापति श्रेष्ठले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई धरापमा पार्न लागेको भन्दै जुनसुकै बेला पनि काँग्रेसले थुतेर सडकमा पु¥याउने चेतावनी समेत दिए ।
क्षेत्रीय कोषाध्यक्ष एवंम प्रदेश सभा २ ‘क’ का सभापति समेत रहेका टंकनाथ पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, काँग्रेस जिल्ला सचिव उत्तम जोशीलगायतका नेताहरुले सम्बोधन गरेका थिए भने जिल्ला सहसचिव राजन कार्की, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङलगायत नेताहरुको उपस्थिति रहेको थियो । काँग्रेसले सोमबार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
























