चितवन विशेष
चितवनमा सौन्दर्यकला व्यवसायीको कार्यशाला सुरु

चितवन, पुस १३-
उद्योग वाणिज्य संघ–चितवनको तालिम हलमा सौन्दर्यकला व्यवसायीका लागि कार्यशाला सुरु भएको छ ।
चितवनको विभिन्न स्थानमा सौन्दर्यकला व्यवसाय गरिरहेका महिला उद्यमीका लागि लक्षित गरी उक्त कार्यशालाको आयोजना गरिएको हो ।
कोभिड–१९ का कारण प्रभावित उक्त क्षेत्रलाई परिस्कृत गर्दै प्रवद्र्धन गर्ने उद्देश्य कार्यशालाले राखेको छ । कार्यशालाको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधानले सौन्दर्यकला र सौन्दर्य प्रशोधनका सामग्रीहरुको माग र आपूर्तिले ठूलो हिस्सा ओगटेको बताउँदै यसलाई अझ बढी व्यवसायिक र थप मर्यादित बनाउंँदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथि प्रधानले सौन्दर्यकला सम्वेदनशिल र स्वास्थ्यसँग पनि सम्बन्धित भएकोले यसको अध्ययन र प्रशिक्षण निरन्तर भइरहनुपर्ने बताउँदै कार्यशालाको सफलताको शुभकामना व्यक्त गरे ।

सोही कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै संघका अध्यक्ष एवम् कार्यक्रमका सभापति राजु श्रेष्ठले महिला सशक्तिकरणका लागि सर्वप्रथम महिला आत्मनिर्भर हुनुपर्ने र आत्मनिर्भर हुनका लागि उद्यमशिलता आवश्यक रहेको बताउंदै उद्यमी महिला मार्फत्नै आर्थिक रुपान्तरण हुने विचार राखे । कार्यक्रममा अध्यक्ष श्रेष्ठले रोजगार सिर्जना गर्ने सन्दर्भमा र उद्यमीशिलता विकास गर्ने सन्दर्भमा उद्योग वाणिज्य संघ चितवन सदैव क्रियाशिल रहने बताए ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै संघका कार्यसमिति सदस्य एवम् तालिम संयोजक योगिता पियाले सिकाइ जीवनको अन्त्यसम्म चलिरहने प्रक्रिया भएकोले यसलाई निरन्तरता दिनुपर्ने बताइन् । उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा चितवन ब्युटी पार्लर युनिटीको समन्वयमा चार दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा ८० जना व्यवसायी सहभागी रहेको र ६ जना प्रशिक्षकले प्रशिक्षण दिने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कार्यक्रमको उद्घाटन समारोहमा प्रशिक्षक सावित्री रेग्मी, चितवन ब्युटी पार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । एडभान्स मेक अप र हेयर स्टायलका विषयमा केन्द्रित रहने कार्यशाला पुस १६ गते सम्म संघको तालिम कक्षमा सञ्चालन हुनेछ ।
























