Breaking News
दुई प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ

कैलाली, पुस १३–
कैलालीमा दुई जना प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार भनिएका एक जना पक्राउ परेका छन् ।
धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार भनिएका मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–१० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई प्रहरीले पक्राउ गरेको हो । कैलाली प्रहरीले आज पत्रकार सम्मेलन गरी रानालाई सार्वजनिक गरेको हो।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले अभियुक्त रानालाई आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट पक्राउ गरिएको जानकारी दिए ।
यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।
फरार मुख्य अभियुक्त राना प्रक्राउसँगै आजै अदालतमा पेस गरिने राणाले जानकारी दिए। राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए। त्यहीँ मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वको टोलीले निजकै घरबाट हतियार लगेर प्रहरी असई र जवानको हत्या गरेको प्रहरी निष्कर्ष छ।
























