Breaking News
गुण्डा नाइके गणेश लामा फाइनान्सबाट एक करोड २० लाख ऋण लिएर सम्पर्क बिहिन

काठमाडौँ, पुस १२-
चर्चित डन भनेर चिनिने गणेश लामालाई समृद्धि फाइनान्स कम्पनीले ऋण तिर्नको लागि ताकेता लगाएको छ । लामाले समृद्धिबाट लिएको व्यक्तिगत कर्जा र व्यापार कर्जा चुक्ता गर्न आइतबार ३५ दिने सूचना सार्वजनिक गरेको हो ।
यसअघि पनि ५ र ६ पटक नै कर्जा चुक्ता गर्न आउनका लागि लामालाई सूचना नै सार्वजनिक गरी ताकेता गरिसकेको फाइनान्सले जनाएको छ । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लामालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अवैधानिक सम्पती कमाएको ठहर गरी अदालती मुद्दा समेत गरिसकेको छ । उनले कम्पनीबाट २०६९ सालमा समृद्धि फाइनान्स कम्पनीबाट कर्जा लिएको केही समय पछिबाटै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न छोडेको कम्पनीका एक अधिकारीले बताए ।
‘उहाँले व्यक्तिगत र व्यापार कर्जा एकै पटक २०६८ र ६९ मा फाइनान्सको पुतली सडक ब्राञ्चबाट लिनु भएको हो,’ ती अधिकारीले भने, ‘कर्जा डिफल्ट भएको ५ वर्ष बढी भयो ।’ उनी कर्जा चुक्ता नगरी समृद्धि फाइनान्सबाटै सम्पर्क विहिन भएर बसेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

‘हाम्रो कर्जा विभागले कयौँ पटक उहाँलाई सम्पर्क गर्न प्रयास गरिसकेको छ, तर उहाँ आफूले कर्जा दिएको ब्राञ्च नआएको र कम्पनीसँग फोन सम्पर्कमा नै नभएको समेत बर्षौ भइसक्यो, ती अधिकारीले थपे, ‘लामाले स्मृति कन्स्ट्रक्शनको नाममा व्यापार कर्जा र व्यक्तिगत प्रयोजनका लागि कर्जा एक वर्षको अन्तरालमा २०६८ साल देखि २०६९ सालमा लिनुभएको हो ।’
जसमा कन्स्ट्रक्सनको नाममा गएको कर्जाको एक करोड २० लाख रुपैयाँ सावाँ नै बाँकी छ भने व्यक्तिगत कर्जाको ४० लाख रुपैयाँ साँवा भुक्तानी गर्न बाँकी छ । कम्पनीले लामालाई कर्जा दिँदा जमानी बसेका चार जना मध्ये उनकै परिवारका ३ जना कर्सिङ लामा, रञ्जु लामा र राकेश लामा छन् । तर जमानीकर्ताहरु समेत सम्पर्कमा नभएको ती अधिकारीले बताए ।
























