Breaking News
गृहमन्त्री बादलले भने : प्रचण्ड र नेपाल अवसरवादी हुन्, तुफान बनेर पराजित गर्नुपर्छ

काठमाडौं, पुस ९-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्ड र नेपाल अवसरबादी भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता बादलले अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्ने विचार राखे ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई प्रतिगमनकारी र अवसरवादीको संज्ञा दिँदै बादलले यस्तो बताएका हुन्। ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने छौं’, बादलले भने।
नेता बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकोसमेत बताएका छन्। उनले चुनावमा गएर फुटवादी र प्रतिगमनकारीलाई पराजित गर्नुपर्नेमा जोड दिए।
‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ’, बादलले भने, ‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ।’
बादलले प्रचण्ड र नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरु उल्ट्याउन केन्द्रित भएको अरोपसमेत लगाएका छन् । उनले उनीहरुको दुश्मनको जालमा परेकोसमेत बताएका छन् ।
उनले पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई दृढतापूर्वक अगाडि बढाउने विश्वासमेत व्यक्त गरेका छन् । ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ। उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ’, बादलले भनेका छन्, ‘पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ ।’
उनले कम्युनिस्ट आन्दोलनको एकता र मुलुकको स्थायित्वका लागि भूमिका निर्वाह गरिरहेको नेतृत्वलाई साथ दिन बैठकमा उपस्थित भएको उल्लेख गरे। ‘कम्युनिस्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ लिन म यहाँ उपस्थित भएको छु’, बादलले भनेका छन्।
























