Breaking News
सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ?: नेकपा नेता रायमाझी

काठमाडौं, पुस ८-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् ।
आज रिपोटर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता रायमाझीले यस्तो बताएका हुन् । उनले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको गम्भीर आरोप लगाए । उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरी प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन । हातखुट्टा बाँध्ने काम भयो । उहाँलाई काम गर्न नदिने स्थिति भयो । प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याइयो, प्रतिपक्षीले त्योसम्मको हर्कत बरु गरेनन् । सरकार पक्षबाटै नेताहरुबाट, विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि, एकातिर काम गरेन भन्ने अर्कोतिर अविश्वासको प्रस्तावमा जाने कुरा भयो । यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहाँको बाध्यात्मक कदम हो ।’
साक्षात्कारमा उनले आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको हर्कत भएपछि प्रधानमन्त्री ओलीले बाध्यात्मक कारण संसद विघटन गरेको जीकिर गरे । उनले भने,‘उहाँहरुले सरकारले काम गर्न सकेन भन्नुभयो, अनि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने काम भयो, अहिले संसद पूर्नस्थापना गर्ने हो माग गरिएको छ । सरकार असफल भयो, काम गर्न सकेन भन्नेहरु कम्तिमा मध्यावधिमा जाने भनेपछि खुसी भएर निर्वाचनमा जानुपर्ने हो नि । राम्रो काम गर्न सक्छु भन्ने लाग्नेलाई निर्वाचनमा जानुपर्छ । सरकारले काम गर्न सकेन भन्नेहरुले सरकारको निर्णयलाई सम्मान गर्नुपर्छ । जनादेश लिएर जानु नै राम्रो हो । हामी भोट प्राप्त गर्छौ, जनमत प्राप्त गर्छों । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ, यो उहाँको राइटको कुरा हो । सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ?’
उनले कुनै पनि हालतमा संसद पूनस्र्पाना नहुने जीकिर गरे । उनले सरकारले काम गर्न सकेन भनेपछि, सरकार परिवर्तनको लागि अविश्वास प्रस्ताव पेस गरेपछि, र सरकार गिराउन त्यो खालको प्रस्ताव गएपछि प्रधानमन्त्री ओलीले जनादेशमा जाने कुरा गर्नु स्वागतयोग्य भएको स्पष्ट पारे । रायमाझीले तोकिएकै मितिमा चुनाव सम्पन्न हुने पनि विश्वास दिलाए । उनले वर्तमान अध्यक्ष ओली सर्वसम्मत अध्यक्ष र सर्वसम्मत प्रधानमन्त्री भएको सुनाउँदै बालुवाटारमा पहिलो अध्यक्षको नाताले ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको सुनाए । उनले भने,‘कतिपय साथी आउनुभएन, कतिपय आउनुभयो । हामीले आवश्यकता अनुसार केन्द्रीय कमिटीमा संख्या थपियो । विधानअनुसार बैठक बसियो ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा संसदीय दलकी सचेतक पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको गम्भीर आरोप लगाइन् । उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाईको जनमत दिएको भए पनि उसले जनमतको यथोचित कदर नगरेको जीकिर गरिन् । उनले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभारा नेकपासँग भएको भए पनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताइन् ।

उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको उल्लेख गरिन् । तर, वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथिनै कुल्चिने काम गरेको उनको गुनासो छ । वर्तमान प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र देशलाई विकास र सुशासन दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाए पनि सो घोषणाअनुसार काम भने नभएको पनि उनको आरोप छ । उनले भनिन्,‘उहाँले पानीजहाज पनि ल्याउँछु भन्नुभयो, भ्रष्टाचार शून्य सहनसिलता दिन्छु भनेर वचन दिनुभयो । तर, अहिले संसद नै समाप्त गर्नुभयो । संविधानले चलाउने हो नि देश । यदि व्यक्तिले चलाउने हो भने किन संविधान चाहियो ? मुलुकले प्रणालीअनुसार अघि बढेन भने प्राप्त उपलब्धि धरायशी हुन्छ । यो सरकारले संसद विघटन गर्यो, यो गलत काम हो । प्रधानमन्त्रीको विशेषाधिकारको कुरा गरियो, तर संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार होइन । अहिलेको संविधानमा संसद विघटन गर्न कुनै धारा छैन् ।’
संसद र कानूनले स्विकार नगरेको कुरालाई प्रधानमन्त्री ओलीले मेरो अधिकार भन्दै संसद विघटन गरेर गलत काम गरेको नेतृ भुषालको भनाइ छ । संसद विघटन सिफारिश संविधानको कुनै धाराले नचिन्नेपनि उनले दोहोर्याइन् । तर, नेकपा सरकारले संसद विघटनको कदम उठाएर गैरसंवैधानिक र अलोकतान्त्रिक काम गरेको उनको भनाइ छ । उनले आफूहरुले संसदीय व्यवस्थालाई स्थिर बनाउन चाहेको उल्लेख गर्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानतः नमिल्ने बताइन् ।
उनले सत्तारुढ नेकपाले जनादेशको सम्मान नगरेको जीकिर गरिन् । उनले भनिन्,‘जबसम्म सरकार बन्नसक्ने ठाउँ हुन्छ, तबसम्म संसद विघटन हुँदैन । अदालतको निर्णय पर्खनुपर्नेछ । संसद पूर्नस्थापना गर्ने सम्भावना छ । निर्वाचन प्रतिपक्षी दल डराउँदैन्, सधैं तयार छ । सिस्टमले मुलुकलाई चलाउँछ ।’
उनले संसद भनेको जनताको ऐना भएको उल्लेख गर्दै आफ्नो गुटको लागि विघटन गर्नु गलत भएको तर्क गरिन् । उनले प्रधानमन्त्री ओलीले पार्टी र कानुनको धज्जी उडाएको पनि आरोप लगाईन् । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरे । उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरे । उनले भने,‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन् । यो रकम काट्न मिल्दैन् । प्रधानमन्त्रीले आफ्नो पद धरापमा पर्यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने, यो त हाँस्यास्पद कुरा हो नि । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको पद धरापमा पर्छ, जान्छ । यो नौलो कुरा होइन । तर, आफ्नो पद धरापमा पर्यो भन्दैमा यस्तो गलत कदम चाल्ने ? यो त संविधानको विरोधी भावना हो । उहाँमाथि अविश्वाको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउँदा अर्को प्रधानमन्त्री पनि अघि सारेको छ । आफूसँग बहुमत छ भने फेस गर्नुपर्छ । तर, उहाँले संसद विघटन गर्न पाउनुहुन्न । दर्ता भइसकेको अविश्वासको प्रस्तावलाई फेस गर्नुपर्छ ।’
उनले संसद विघटन गैरसंवैधानिक रहेको तर्क पेस गरे । उनले अहिले चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि जीकिर गरे । उनले भने,‘अहिलेको अवस्था र अन्यौलबाट मुलुकलाई बचाउनको लागि हामीले अदालतमा बिन्ती गरेका छौं । विश्वमा धेरै देशमा सडकमा पनि बसेर संसद स्थापित भएका उदाहारण र इतिहास छ । नाजायज कुरा र संविधानविपरितका कुरा सुरुदेखि नै बदर हुन्छ । हामीले संसद चलाउनको लागि सभामुखलाई पनि आग्रह गरेका छौं । अहिले चुनावको कुरा गरिएको छ, ओलीले गरेको कुरा नक्कली कुरा हो । यसले सक्कली कुरा लुक्दैन् ।’
























