चितवन विशेष
दियालो बङ्गला पछाडि पशुबध नगर्न अनुरोध

चितवन, पुस ८–
धार्मीक क्षेत्र देबघाट आसपासका विभिन्न स्थानमा पशुबध नगर्न अनुरोध गरिएको छ । देवघाट क्षेत्र विकास समितिले एक सूचना जारी गर्दै देवघाट क्षेत्रमा पशुबध नगर्न अनुरोध गरेको हो ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सार्वजनिक सूचना जारी गर्दै भरतपुर महानगरपालिका–१ दियालो बङ्गला क्षेत्रमा पशुबध गर्ने क्रम बढेकाले यस्तो नगर्न अनुरोध गर्नुभएको हो । सूचनामा भनिएको छ, “नारायणी नदी किनारमा कतिपय समुदायले परम्परागत रुपमा पुजा सञ्चालन गर्दै आइरहेको सो स्थानमा पशुवली दिने कार्य हुने गरेको भन्ने बुझिन आएको हुँदा समितिको ध्यान आकृष्ट भएको छ ।”
क्षेत्र धार्मिक दृष्टिकोणबाट अति महत्वपूर्ण रहेकाले पशुबध गर्न उपयुक्त नहुने सूचनामा उल्लेख छ । वातावरणीय प्रदूषण बढ्न जाने भएकाले नदीको पवित्रता जोगाइ राख्न त्यस क्षेत्रमा पशुबध नगर्न समितिले अनुरोध गरेको हो । रासस


























