Breaking News
प्रचण्डको गृहजिल्लामा केपी ओलीको समर्थनमा दीपावली र प्रदर्शन

चितवन, पुस ७–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा आज (मंगलबार) अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।
ओलीका समर्थकहरुले भरतपुरस्थित चौविसकोठीमा साँझ दीपावली गरेसंगै प्रदर्शन गरेका हुन् । उनीहरुले केपी ओली जिन्दाबाद, नेकपा जिन्दावाद, भोट के मा ? सूर्यमा, जबज जिन्दाबाद लगायतका नारा लगाएका थिए । कार्यक्रममा युवा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दीपावलीको सुरुवात गर्दै नेकपाका युवा नेता कमलराज पाठकले देशलाई समृद्ध बनाउन ओलीले पार्टी एकता गरेको भन्दै छोटो समयमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले देश र जनताको भन्दा पदको लोभका कारण नेकपा जटिल मोडमा पुगेको बताउनुभयो । उहाँले पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष ओलीलाई साथ दिन आग्रह गर्नुभयो । ‘नेपाली कम्युनिष्ट आन्दोलन बचाउन र देशलाई समृद्ध बनाउन कमरेड माधव र बामदेवलाई एक भएर आउन आग्रह गर्दछु’–उहाँले भन्नुभयो ।
उहाँले प्रश्न गर्नुभयो–‘माधव कमरेड तपाई प्रचण्डको साथ लागेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलको मलामी जाने की, कम्युनिष्ट आन्दोलन जोगाएर देशलाई समृद्ध बनाउन तर्फ उन्मुख केपी ओलीको साथमा रहेर अघि बढ्ने ?’
युवा नेता पाठकले देशलाई द्धन्द्धमा धकेलेर उदाएका प्रचण्डले नेकपालाई समाप्त पार्ने गरी अघि बढिरहेको आरोप समेत लगाए ।

























