Breaking News
प्रचण्ड माधव समूह बैठकः दुई तिहाई केन्द्रीय सदस्यले गरे हस्ताक्षर

काठमाडौं, पुस ७–
संसद विघटन भएसंगै नेकपाका लगभग औपचारिक रुपमै विभाजन भएको छ । मंगलबार प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेको छ । दुवै पक्षले आफ्नो पक्षमा बहुमत सदस्य रहेको दावी गरेका छन् । मंगलबारको दृश्यले नेकपाका दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–माधव समूहतिर लागेका छन् ।
बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।
नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ । यसले प्रचण्ड–माधव समूह हौस्सिएको छ ।
उता ओली समूहले पनि आफ्नो पक्षमा बहुमत सदस्य रहेको दावी गरेको छ । यद्यपी सो समूहले उपस्थिति संख्या खुलाएको छैन । सो समूहले प्रवक्तामा नियुक्त गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साँझसम्ममा केन्द्रीय सदस्यहरुको उपस्थिति बारे जानकारी गराइने बताए । उनले केन्द्रीय सदस्यको संख्या थप गरिएको समेत बताए ।
























