Breaking News
ओलीको कार्यले पार्टी एकतामा कुनै असर पर्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ‘कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकतामा कुनै असर नपर्ने’ बताएका छन् ।
नेकपाको लेटरहेडमा सोमबार बिहान पार्टी अध्यक्षका रुपमा विज्ञप्ति जारी गर्दै दाहालले भनेका छन् ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’
उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’
प्रधानमन्त्री ओलीको कमदलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छाचारी भन्दै नेकपा स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरिसकेको उल्लेख गरेका छन् । कुनै एक व्यक्तिको पार्टीविरोधी गतिविधिले पार्टी एकता भत्काउन नसक्ने भन्दै उनले त्यस्तो क्रियाकलापलाई भ्रमात्मक प्रचारको संज्ञा दिएका छन् ।

























